तुलसीपुर, ७ मंसिर । दाङको तुलसीपुरमा आजदेखि क्रिष्टलका (चुरा, पोते) गहना बुनाइ तालिम सुरु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नंबर ७ मा सो तालिम सुरु भएको हो । तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहनु भएका वडा नंबर ७ का वडा अध्यक्ष राम बहादुर जिसीले सीप सिकाएर महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि तालिमको आयोजना गरिएको बताउनु भयो । उहाँले भौतिक विकास मात्रै नभएर मानवीय विकासको पनि आवश्यकता हुने भएकाले तालिम दिएर आयआर्जनमा जोडिन महिलाहरुलाई आग्रह समेत गर्नु भयो । सीपलाई तालिममा मात्रै सीमित नराखेर व्यवहारमा कार्यान्वयन गरेर आर्थिक रुपमा सक्षम हुन पनि सुझाव दिनु भएको थियो ।
यस्तै विशिष्ट अतिथि वडा नंबर ७ का निवर्तमान वडा अध्यक्ष टोप बहादुर केसीले तुलसीपुरमा सौन्दर्य तथा कस्मेटिक सामग्री सबै बाहिरबाट ल्याउनु पर्ने अवस्था रहेकाले स्थानिय स्तरमै त्यस्ता सामग्री उत्पादन गर्ने जनशक्ति आवश्यकता रहेको बताउनु भयो । त्यही आवश्यकतालाई परिपूर्ति गर्नका लागि ध्यान दिएर मेहनतका साथ तालिम सिकेर स्थानिय स्तरमै व्यवसायिक रुपमा क्रिष्टलका सामग्री निर्माण गरेर व्यवसायिक रुपमा अगाडि बढ्न सुझाव दिनुभयो । तालिम पश्चात घरमै बस्ने, व्यवहारिक रुपमा कार्यान्वयन नगर्ने प्रवृति रहेकाले यस्तो अवस्थालाई परिमार्जन गरेर व्यवहारमा कार्यावयन गरेर आत्मनिर्भर हुने र रोजगारीमा लागेर आर्थिक, सामाजिक रुपमा आत्मनिर्भर बन्न उहाँको सुझाव थियो ।
दाङ हस्तकला संघको आयोजना तथा तुलसीपुर उपमहानगरपालिका वडा नंबर ७ को आर्थिक सहयोगमा तालिमको आयोजना गरिएको हो । तालिममा ७ नंबर वडाका १५ जना महिलाहरुको सहभागिता रहेको छ । मंसिर १६ गतेसम्म संचालन हुने तालिमको प्रशिक्षकमा गढवा गाउँपालिका ३ की श्रीकुमारी चौधरी रहनु भएको छ । दाङ हस्तकला संघका अध्यक्ष अशोक थारुको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य सदस्य श्रीकुमारी चौधरी र सहजीकरण पत्रकार निता चौधरीले गर्नु भएको थियो ।।























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।