तुलसीपुर, १२ असोज । लुम्बिनी प्रदेशका उद्योग वाणिज्य तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपानेले प्रदेशमा उद्योगको क्षेत्रमा महिलाहरुको प्रतिनिधित्व अगाडि रहेको बताउनु भएको छ । कुनै दिन चुलोचौकामा सीमित महिलाहरु उद्योगको क्षेत्रमा ७० प्रतिशत सहभागिता रहेको भन्दै प्रशंसनिय रहेको उल्लेख गर्नुभयो । नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुर शाखाको पहिलो बार्षिक उत्सव तथा साधारणसभालाई सम्बोधन गर्दै उहाँले कृषि र पर्यटन पनि एउटा उद्योग भएकाले यसलाई उद्योगसँग जोड्नुपर्ने बताउनुभयो ।
उहाँले उद्यममा अगाडि बढ्न चाहने प्रदेशका नागरिकहरुको पहिचान र अध्ययन गर्न आवश्यक रहेको बताउदै यसका लागि स्थानिय वडा सरकार, पालिका सरकार, संघसंस्था र नागरिक अगुवाहरुले भूमिका खेल्न आग्रह पनि गर्नु भयो ।सरकारले घरेलु मार्फत तालिम दिनको लागि बजेट छुट्याइएको भएपनि योग्यता अनुसारका जनशक्ति नपाईने भएकोले योग्यता क्रम घटाएर तालिम दिनुपरेको बताउनुभयो । उहाँले उद्योगीहरुले बन्द हुने अवस्थामा रहेका उद्योगहरुको पहिचान गरि, के कारणले उद्योग बन्द हुने अवस्थामा पुगे भन्ने विषयमा सरकारसँग कुरा राखेमा आफुहरुले उद्योग सञ्चालनको लागि पहल गर्ने बताउनुभयो । उद्योगीले उत्पादन गरेका वस्तुहरु स्थानीय, जिल्ला र राष्ट्रियस्तरका बजारसंग समन्वय गरेर बिक्री गर्ने जिम्मेवारी सरकारको भएको उहाँले बताउनुभयो ।
सरकार प्रतिनिधि तथा कर्मचारीहरुले स्थानीय उत्पादनलाई आफै उपभोग गर्न आवश्यकता छ । उद्योगीहरुको समस्या पहिचान गरि काम गर्ने हो भन्ने लुम्बिनी प्रदेशको विकास गर्न, आर्थिक परिवर्तन, सामाजिक लगायतका अन्य क्षेत्रमा सफल लुम्बिनी बन्न सक्ने दावी गर्नु भयो । उहाँले स्थानीय सरकारले युवा बिदेश जानबाट रोक्नुपर्ने र युवाको आवश्यकता बुझेर लुम्बिनी सरकारलाई सहयोगको आग्रह गरेमा पहल गर्ने प्रतिबद्धता जनाउनु भयो । अबको १० बर्षपछि सबै युवा विदेशिने अवस्था रहेको भन्दै यसलाई रोक्न उहाँँले सबैलाई आग्रह गर्नुभयो ।
तुलसीपुर उपमहानगरपालिकाका कार्यबाहक मेयर माधव वलीले बाह्य उत्पादन नभएर स्थानिय उत्पादनलाई पश्रय दिए मात्रै उद्योगको क्षेत्रमा गति लिन सकिने बताउनु भयो । कार्यक्रमलाई सम्बोधन गर्दै अन्य वक्ताहरुले नागरिकहरुले नै स्थानिय उत्पादन प्रयोग गर्ने बानी बसाल्नु पर्नेमा जोड दिएका छन् । कुनै पनि उद्योगलाई माथि लैजाने काम उपभोक्ताले गर्ने भएकाले उनीहरुको आश्यकता र चाहना अनुसार सामान उत्पादन गर्नु पर्नेमा उद्योगीहरुको आर्थिक अवस्था माथि उकास्नका लागि गुणस्तरीय वस्तु उत्पादनमा ध्यान दिन जरुरी रहेको उनीहरुको भनाइ रहेको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुर शाखाका अध्यक्ष लाल बहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल घरेलु उद्योग महासंघ दाङका अध्यक्ष लब अधिकारी, तुलसीपुर उद्योग बाणिज्य संघका सहकोषाध्यक्ष दिपेश भण्डारी, तालिम तथा रोजगार केन्द्र लुम्बिनी प्रदेशका देवराज अधिकारी, तुलसीपुर चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष सन्तोष खड्का, तुलसीपुर खानेपानी सरसफाई संस्थाका अध्यक्ष यमकान्त भण्डारी, पत्रकार जित सागर जिएम लगायले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको सहजीकरण महासंघका महासचिव भद्र बहादुर वलीले गर्नु भएको थियो ।।