घोराही, ६ भदौ । तुलसीपुर उपमहानगरपालिका– १९ विजौरीमा रहेको डाइनामिक वाटर एण्ड वेभरेज उद्योगलाई सिल गरिएको छ । सिल प्याक गरेर बजारमा बिक्रीका लागि पठाएको प्रशोधित पिउने पानीको बोतलमा किरा भेटिएपछि उद्योग सिल गरिएको हो । उद्योगबाट उत्पादित एक्वा डिमान्ड नाम गरेको प्रशोधित पानीमा ढुसीसहित कमिला फेला परेको थियो । जिल्ला प्रशासन कार्यालयको बजार अनुगमन टोलीले घोराही उपमहानगरपालिका वडा नं. १५ दीपशिखा चोकमा रहेको सगुन नास्ता पसलमा किरासहित ढुसी लागेको पानी फेला पारेको थियो । सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनको नेतृत्वमा तुलसीपुर पुगेको अनुगमन टोलीले तुलसीपुर उपमहानगरपालिका –ं. १९ विजौरीमा रहेको डाइनामिक वाटर एण्ड वेभरेज उद्योगको उत्पादन र बिक्री वितरणलाई रोक लगाउँदै सिल गरेको छ ।
घोराहीबाट बरामद गरिएको किरा र ढुसीसहितको लेबल नलगाएको बोतल बोकेर उद्योग पुगेको अनुगमन टोलीले मापदण्ड पूरा नगरेसम्म उद्योग सञ्चालन गर्न रोक लगाएको हो । पानीमा ढुसी र किरा भेटिएपछि प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले उद्योग सिल गरी उत्पादन र बिक्री वितरणमा रोक लगाउन निर्देशन दिदै सहायक प्रमुख जिल्ला अधिकारीसहितको टोलीलाई उद्योगमा पठाउनुभएको थियो । उद्योग संचालकलाई उपभोक्ता हित संरक्षण २०७५ र नियमावली २०७६ अनुसार कारबाही प्रकृया अघि बढाइने प्रमुख जिल्ला अधिकारी सुवेदीले बताउनुभयो ।
उद्योगमा चारवटा सिल लगाएको छ । उद्योग वाणिज्य संघका प्रतिनिधि, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रतिनिधि, घरेलु तथा साना उद्योग कार्यालय, प्रहरी, स्थानीय, पत्रकारलगायतको रोहवरमा तयार पारिएको मुचुल्कामा उद्योगबाट उत्पादन हुने पानी र वेभरेज उत्पादन र विक्री वितरणमा रोक लगाई सिलबन्दी गरिएको उल्लेख छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वको अनुगमन टोली उद्योगमा पुग्दा मापदण्ड अनुसार उद्योग सञ्चालन नभएको र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरले पटक–पटक दिएको निर्देशन समेत पालना नगरेको देखिएको थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका खाद्य निरीक्षक सुदर्शन गोसाईले सामान्य निर्देशन समेत पालना नगरेको बताउनुभयो । डाइनामिक वाटर एण्ड वेभरेज उद्योगले उत्पादन गरेको एक्वा डिमान्ड नामको पानीको बोतलमा लेबल समेत मापदण्ड अनुसार नभएको अनुगमनमा देखिएको थियो । किरा भेटिएको सिल प्याक बोतलमा पनि लेबल थिएन ।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।