तुलसीपुर, २३ साउन । तुलसीपुरको मदनआश्रित मार्गलाई ‘अस्फाल्ट’ प्रविधिमा कालोपत्रे गरिने भएको छ । पहिलो चरणमा तुलसीपुर –६ को तरकारी मण्डीदेखी, बरुवागाउँ, गाइडर, बन्कटा हुँदै राजापुर जोड्ने एक किलोमिटर सडक अस्फाल्ट पिज गरिने भएको हो । तुलसीपुर उपमहानगरपालिका–६ नम्बर वडाले यसलाई गौरवको योजनाको सूचीमा राखेको थियो । अस्फाल्ट प्रविधिबाट निर्मित सडक बलियो, महँगो र टिकाउ मानिन्छ । अस्फाल्ट पिच गर्दा चार सेमी मोटाइको पिच हुनुपर्दछ ।
२०८२ असार मसान्तमा सडकको निर्माण कार्य पुरा गर्नेगरी बासुनी, जयमा सोसाइटी जेभिले सहरी विकास तथ भवन कार्यालय दाङ संग गएको असारमा सम्झौता गरेको थियो । यसका लागि १ करोड ९१ लाख ८७ हजार बजेट विनियोजन गरिएको कार्यालयका इन्जिनियर सरोज चौधरीले जानकारी दिनुभयो । नाला सहित ८ मिटर चौडाइ, ८ सय मिटर लम्बाइ र एक हजार मिटर नाला निर्माण गरिने भएको छ । तुलसीपुर–६ मा मात्रै एकीकृत वस्ती योजना अन्तर्गतका २३ वटा योजना रहेको बताउँदै वडा अध्यक्ष दुजमान भण्डारीले समयमै निर्माण कार्य पुरा गर्न आफू लागि परेको बताउनुभयो ।
‘‘तपाईले फोन गर्ने बेला अहिले पनि म फिल्डमा छु । सडक चौडा र फराकिलो बनाउँदा गाउँ घरमा हुन सक्ने ससाना विवादलाई मिलाउने । आपसी समझदारी कायम गर्ने र योजनालाई समयमै सम्पन्न गर्न म लागि परेको छु ।’’ वडा अध्यक्ष भण्डारीले भन्नुभयो ।
तुलसीपुरमा अमेरिकन प्रविधिको अस्फाल्ट पिज गर्न लागिएको यो पहिलो पटक हो । यसैबीच सडकको अस्फाल्ट पिचका लागि शिलान्यास समेत गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले सडकको शिलान्यास गर्नु भएको हो ।
तुलसीपुरमा पहिलो पटक अस्फाल्ट प्रविधिको पिच हुँदै
प्रकाशित मिति : २०८१ साउन २३ गते बुधवार
प्रतिक्रिया