प्युठान गर्जेनीको पहिरो हटाउन ६ लाख रुपैयाँ खर्च

प्युठान,२० श्रावन ।प्युठानको माण्डवी गाउँपालिका–१ गर्जेनीको पहिरोले प्युठान, रोल्पा र गुल्मीका यात्रुले सास्ती भोग्नुपरेको छ । प्युठान र रोल्पाका धेरैजसो क्षेत्र तथा गुल्मीको मदाने गाउँपालिकाका स्थानीयबासिन्दा आवतजावत गर्ने सडक पहिरोका कारण पटक–पटक अवरुद्ध हुँदै आएको छ ।

दाङ देउखुरीको भालुवाङ–प्युठानको खलङ्गा र रोल्पाको लिवाङ जोड्ने मुख्य सडक अवरुद्ध हुँदा दैनिकी प्रभावित बन्ने गरेको छ । भालुवाङ–चकचके खण्डमा पर्ने गर्जेनी, खहरेखोला लगायतका ठाउँमा निरन्तर पहिरो खस्दा समस्या हुने गरेको छ । प्युठान नगरपालिका–७ का टीकाराम पोख्रेलका अनुसार गर्जेनीमा पहिरो गयो कि, बाटो बन्द भयो या भएन भनेर समाचार, सूचना हेरेर सुनेर मात्रै यात्रा गर्नुपर्ने बाध्यता छ । हरेक वर्ष बर्खा लागेसँगै गर्जेनीमा पहिरो जाँदा सास्ती खेप्नुपरेको रोल्पाको सुनिल स्मृति गाउँपालिका–२ खुङ्ग्रीका मनबहादुर पुनले गुनासो गर्नुभयो ।

भालुवाङ–प्युठान सडकअन्तर्गत बडडाँडा–चकचके खण्डमा असार १९ यता २१ पटक बाटो अवरुद्ध भएको छ । हिजो शनिवार पनि गर्जेनीको पहिरो नौ घण्टापछि हटाएर यातायात सञ्चालन गरिएको थियो । सडक डिभिजन कार्यालय प्युठानका इन्जिनियर कमल पुनका अनुसार अवरुद्ध सडक सञ्चालन गर्न छ लाख रुपैयाँ खर्च भइसकेको छ ।

प्रकाशित मिति : २०८१ साउन २० गते आइतवार
प्रतिक्रिया