तुलसीपुर, २८ चैत । दाङको तुलसीपुरमा रहेको ज्ञान ज्योति एजुकेसन फाउन्डेसनद्वारा सञ्चालित ज्ञान ज्योति माध्यमिक विद्यालयले आज कक्षा १२ का विद्यार्थीहरुलाई विदाई गरेको छ । कक्षा ११ का विद्यार्थी प्रेम खड्काको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखाका प्रमुख चक्र भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि भणडारीले विद्यालय र विद्यार्थी जीवनमा सुन्दरता, यौवन र अभिमानलाई मार्गदर्शनको रुपमा लिएर अगाडि बढ्न विद्यार्थीहरुलाई आग्रह गर्नु भयो । यो उमेर किशोरावस्थाको उमेर भएकाले सुन्दरता र यौवनसँगै उसको अभिमानलाई ख्याल गरेर मार्ग निर्देश गर्नु पर्ने बताउनु भयो । जीवनमा आउने हरेक प्राकृतिक कुराहरुलाई व्यवस्थापन गरेर अगाडि बढ्ने व्यक्ति नै सवल, सक्षम र सफल व्यक्ति बन्न सक्ने उहाँले बताउनु भयो । यो भविष्य कोर्ने बाटो र उमेर भएकाले यही उमेर र समयमा सही मार्ग अपानाउन नसके पछि गएर पछुताउनु बाहेक केही विकल्प नभएकाले सही बाटो निर्देश गर्न सक्ने क्षमता विद्यार्थीमा हुनु पर्ने बताउनु भयो ।
उमेर समुहका कारण यो स्टेजमा विभिन्न कुराहरु आउने भएकाले सो कुराहरुलाई सही तरिकाले व्यवस्थापन गरेर अगाडि बढ्ने व्यक्ति नै सवल र अव्वल मान्छे बन्न सक्ने उहाँको भनाई थियो । विद्यार्थीहरुमा अभिभावक, शिक्षक, विद्यालय, समाज र राष्ट्रको अपेक्षा र सपना भएकाले पूरा गर्ने जिम्मेवारी उपयोग गर्न आग्रह गर्नु भयो । विदाई भएर जाने विद्यार्थीहरुलाई १२ कक्षा पुरा गरेको नभई जिम्मेवारी बहन गर्नु पर्ने समयको सुरुवात भएको उहाँले बताउनु भयो । १२ कक्षासम्मको सिकाईलाई उपयोग गरेर आगामी सिकाईको स्तरलाई क्षमता विकास गर्न आग्रह गर्नुभयो । ज्ञान ज्योतीमा विद्यार्थी थपिनु भनेकै विद्यालयको जिम्मेवारी थपिएको बताउनु भयो । जीवन उपयोगीसँगै बजारमा विक्ने र टिक्ने शिक्षा प्रदान गर्नु पर्ने उहाँको भनाई थियो ।
कक्षा ११ का विद्यार्थीहरुको आयोजनामा भएको कार्यक्रममा ज्ञान ज्योति फाउन्डेसनका निर्देशक सुरेन्द्र जिसिको स्वागत मन्तव्य र सहजीकरण शिक्षकहरु सन्तोष केसी र सोमराज बस्नेतले गर्नु भएको थियो । कार्यक्रममा विद्यालयप्रति योगदान पु¥याउने शिक्षक तथा विद्यार्थीहरुलाई सम्मान पनि गरिएको थियो । गायिका अस्मिता अधिकारी र विद्यार्थीहरुको प्रस्तुती पनि रहेको थियो ।।












