कास्की, २५ माघ । पोखरामा ज्यान मार्ने धम्की दिएर पाँच करोड रुपैयाँ फिरौती माग्ने दुई जनालाई कास्की प्रहरीले प्रकाउ गरेको छ । पोखरा महानगरपालिका–१६ लामाचौरका प्रकाशदीप गैरेलाई फोन तथा म्यासेजमार्फत धम्की दिँदै पाँच करोड रुपैयाँ फिरौती मागेको आरोपमा दुई जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा पर्वतको कुश्माका ३६ वर्षीय लक्ष्मण दर्जी र ४२ वर्षीय दीपकबहादुर क्षेत्री रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) मोहन थापाले जानकारी दिनुभयो । गैरेले पोखरा–१६ दीपमा सच्चाई सेवा केन्द्र चलाउँदै आएका छन् ।
गैरेले केन्द्रको गतिविधि सामाजिक सञ्जाल युट्युबमा राखेको र तिनै गतिविधि हेरेर मुख्य आरोपी लक्ष्मण दर्जीले योजना बनाएका थिए । उनले गैरेलाई माघ १८ गते हिन्दी भाषामा धम्कीपूर्ण म्यासेज पठाउँदै पाँच करोड रुपैयाँ मागेका थिए । हिजो फिरौती माग्नेहरू दीप सच्चाई सेवा केन्द्रमै गएका बेला पक्राउ परेका हुन् । पक्राउ परेका दुवै जनालाई लागुऔषध, हातहतियार तथा खरखजाना र आपराधिक लाभ गरी तीन वटा मुद्दामा अनुसन्धान भइरहेको एसपी थापाले बताउनुभयो । उनीहरूको साथबाट विभिन्न हतियार पनि बरामद भएको छ ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।