२०८३ कार्तिक ११ गते बुधवार

बुबा देख्न नपाएका हरिको दर्दनाक पीडा

तुलसीपुर, ३० कात्तिक । ६ महिना हुँदा बुबा लालबहादुर खड्का संसार छोडेर जानुभयो । लाउँलाउँ खाउँखाउँको उमेरमा बुबाको २०४८ असार २५ गते निधन भएपछि जेनतेन आमाले २ वर्षसम्म छोरालाई पालेर बस्नुभयो । जसका लागि जन्मघर छोडेर आइयो त्यही मान्छे सधैँका लागि नआउने गरि गएपछि अर्को घरबार जोडन बाध्य हुनुभयो आमा । त्यसपछि २ वर्षको दुधे बालकको पालनपोषणको जिम्मा घरकै हजुरआमालाई आइलाग्यो । गरिब परिवारमा हुर्किँदै कठिन दिनका संघर्ष गर्दै कक्षा १२ पास गरेका तुलसीपुर उपमहानगरपालिका ८ निवासी हरि खड्का २०६८ सालमा धेरै धनपैसा कमाउने सपना देखेर मलेशिया हिडनुभयो । घरको आर्थिक अवस्था कम्जोर भएका कारण पढ्ने इच्छा हुँदाहुँदै धन कमाउन विदेशी भूमिमा जानुपर्ने बाध्यता उहाँलाई आइलाग्यो ।

मलेसियामा राम्रो कमाई नभएपछि हरि बिचमा घर फर्किनुभयो । केही समयको बसाइ पछि फेरि हरिको यात्रा साउदीका लागि सुरु हुन्छ । २०७२ मङ्सिरमा साउदी पुग्नु भएका हरि खड्का ३ वर्ष बिताएर नेपाल फर्किनुहुन्छ । नेपाल फर्किएको २० दिन भएको  थियो । आफुसंगै रहेको साथीलाई अर्को साथीले तुलसीपुरमा बोलायो । साथीसँगै बाइकमा पछाडि बसेर गएका हरि  तुलसीपुर बजार  नपुग्दै तुलसीपुर– ८ चमिखोलामा २०७५ पुस १२ गते साँझ ७ बजे दुर्घटनामा पर्नुभयो । त्यो दिन नै हरिका लागि कालो दिन थियो ।

सडकबाट खोलामा खसेर गम्भिर घाइते हुनुभएका हरिको दाङको तुलसीपुर, कोहलपुर हुँदै काठमाण्डौको अन्नपूर्ण न्युरोमा उपचार गर्दासम्म करिब २५ लाख रुपैयाँ खर्च भयो । तर हरिको शरीर पहिलाको अवस्थामा आउन सकेन ।  किशोर अवस्थामा कमाएको धन पैसो सकियो । भएभरका आफन्तहरूसँग ऋण काढियो । तर घाउ निको हुन सकेन । जुन घटनाले जीवनभर परनिर्भर बनाएर तड्पी तड्पी बाँच्ने गरायो । हात खुट्टा, टाउको र शरीरका विभिन्न ठाउँमा लागेको चोट निको भए पनि दाहिने हातको चुँडिएको नशा भने पुरानै अवस्थामा नआउँदा उनलाई दुखाइको पीडाले भतभती पोल्ने गरेको छ । नसा चुँडिएका  कारण रक्त सञ्चार सही रुपमा नहुँदा हरिले निकै कष्ट झेल्नु परेको छ ।

‘हातको दुखाइ यति छ कि भित्र भित्र हररर्र पोल्छ । मानौ त्यो पोलाइले भात तरकारी पनि पाक्छ कि जस्तो लाग्छ । हातले काम त गर्दैगर्दैन । त्यसमा पनि न पोले त आँटो रोटी जे छ, खाएर जेनतेन बाँच्थे होला । तर पोलेर उर्छिने पड्किने गराउँछ । कहिले काँही मर्छु भनेर पनि सोच्छु तर श्रीमती र छोराछोरीको मुख हेर्छु । उनीहरूको खुशीका लागि जति पीडा भएपनि सहेर बाँच्नु पर्छ भन्ने लाग्छ । दिभर हातको दुखाइ कम भएपनि रात पर्दै गएपछि असह्य पीडाका कारण चिच्याहट हुँदा श्रीमती र छोराछोरी मुखतिर हेर्दै रुदै गर्छन । हामीसँग धनको बदलामा गरिबी छ, आँशु र पीडा छ । त्यस कारण रुनुको विकल्प छैन ।’ आँखाभरि आँशु टिलपिल पार्दै तुलसीपुर खबरसँग हरि खड्काले भन्नुभयो ।

त्रिपुरेश्वरको ब्लुक्रस हस्पिटलका चिकित्सकले करिब ३ लाख रुपैयाँ भए नशाको अप्रेसन गरेर पुरानै अवस्थामा ल्याउन सकिने बताएका छन् । तर हरि खड्काको परिवारलाई ३ लाख ३ करोड जस्तो भएको छ । घरमा खाने अन्नको गेडा छैन । ३ लाख कसरी जुटाउने ? मर्नु भन्दा बहुलाउनु जाती भने झै हरि खड्काले लाजलाई लुकाएर सामाजिक सञ्जाल फेसबुकलाई प्रयोग गरेर आफूलाई चिन्ने साथीभाइ, इस्टमित्र र शुभचिन्तकस‌ँग सहयोगको अपिल गर्नुभएको छ । आर्थिक सहयोग गर्नका लागि खड्काले तुलसीपुरमा रहेको गरिमा बैंकको खाता नं. ०७५१०९०१०६१९८७०००००१ समेत दिनुभएको छ । बालापनमा बुबा आमाको न्यानो काख गुमाउँदा आफू बेसहारा भए पनि श्रीमती र दुई सन्तानका लागि धुरि खाँबोका रुपमा उभिएका खड्का आफै अशक्त हुँदा दैनिक जीवन झन पछि झन कष्टकर बन्दै गएको छ । सहयाेग गर्न इच्छुकले खड्काले प्रयाेग गर्दै आएकाे माेबाइल नम्बर  ९८६४७२२९४५ मा सम्पर्क गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० कार्तिक ३० गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।