२०८३ कार्तिक ११ गते बुधवार

कपुरकोटका युवाहरुले मौलिक लोक संस्कृति संरक्षणमा ध्यान दिन थाले

सल्यान, २३ भदौ । सल्यानका युवाहरूले पछिल्लो समय मौलिक लोक संस्कृति संरक्षणमा ध्यान दिन थालेका छन् । जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर ३ मूलपानीका युवाहरूले लोक संस्कृति संरक्षणमा ध्यान दिन थालेका हुन् ।

कपुरकोट गाउँपालिकाको १३ गाउँसभाबाट कपुरकोट जागरण कार्यक्रम मार्फत पालिका भित्र रहेका बिभिन्न मौलिक लोक संस्कृतिको संरक्षण, पर्वद्धन र पुस्तान्तरणका लागि विशेष अभियान सुरुवात गरे पछि युवाहरूको मौलिक लोक संस्कृति संरक्षण तर्फ युवाहरूको आकर्षण बढ्दै गएको हो ।

मौलिक लोक संस्कृतिमा युवाहरूले चासो नदेखाए पछि २०५५ सालबाट हराएको मूलपानीको लाखे नाचलाई युवाहरूले संरक्षण गर्ने भन्दै यस वर्ष देखि फेरी सुरुवात गरेका छन् । स्थानीय सामुदायिक बनको सहयोगमा लाखे नाचमा प्रयोग गरिने खप्पर, ढोलक,झ्याली,दमाह,बाँसुरी लगायतका वाद्यवादनका सामाग्री खरिद गरेर लाखे नाचको सुरुवात गरिएको स्थानीय टिकाराम बुढाथोकीको भनाई छ ।

 लाखे नाच विशेष गरेर गाउँपालिकाको वडा नम्बर ३ को दमारखोला, वडा नम्बर ५ को रिममा नाचिन्छ भने वडा नम्बर ४ को गाडापानी र धनवाङका हराएर गएको छ । कृष्णलाई मार्नका लागि कंसले बहिनी पुतनालाई प्रयोग गरेको र पुतनाको मृत्युको कामना गर्दै राक्षसको स्वरूपमा सजिएर लाखे नाच नाचिन्छ । लाखे नाच नाग पञ्चमीका दिनबाट सुरु गरेर ठाउँ अनुसार कृष्ण दशमी दिन सम्म विर्सजन गर्ने चलन छ ।

 सल्यानमा लाखे नाचका क्रममा स्थानीय लोकभाका, भेषभूषा र चालचलनका आधारमा ढाेंटा मारुनी, एवं रोपाइँ जात्रा देखाउँदै समाजका विभिन्न विकृति माथि व्यङ्ग्य प्रहार गर्ने र सर्वसाधारणलाई मनोरञ्जन दिने गरिन्छ । लाखे नाच सहित कपुरकोट गाउँपालिकामा रहेका बिभिन्न मौलिक संस्कृतिलाई पालिकाको सार्वजनिक सम्पतीका रुपमा संरक्षण गर्ने अभियानमा गाउँपालिका पनि लागि परेको छ । मौलिक संस्कृतिलाई संरक्षण गर्ने अभियानमा लाग्ने समुहलाई आवश्यक सामाग्री तथा तालिम दिइने गाउँपालिकाले जनाएको छ ।

 

प्रकाशित मिति : २०८० भाद्र २३ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।