सल्यान,२२ भदौ । सल्यानको कपुरकोट गाउँपालिकामा मौलिक लोक संस्कृति संरक्षणका लागि लाखे नाच प्रदर्शन गरिएको छ । गाउँपालिकाको वडा नम्बर ३ को कपुरकोट र वडा नम्बर ५ को तिनडाँडा रिममा लाखे नाच प्रदर्शन गरिएको हो । कृष्णलाई मार्नका लागि कंसले बहिनी पुतनालाई प्रयोग गरेको र पुतनाको मृत्युको कामना गर्दै राक्षसको स्वरूपमा सजिएर विशेष नेवार समुदायमा लाखे नाच नाचिन्छ ।
नाग पञ्चमीका दिनबाट सुरु गरिएको पुतनाको मृत्युको कामना गर्दै ऋषि पञ्चमीका दिन मृत्यु भएको सम्झँदै लाखे विसर्जन गरिने परम्परा छ । तर सल्यानको कपुरकोटमा भने कृष्ण जन्माष्टमीको पर्सिपल्ट नवमीको दिन लाखे विसर्जन गर्ने चलन छ । लाखे नाचमा ढोलक, बाँसुरी,झ्याली,लगायतका बाजा बजाइन्छ । भूतप्रेत नलागोस् र मरेको आत्माले दुःख नदेओस् भनेर यो नाच रातिमा देखाइने पुरानो कथन भएता पनि सल्यानमा दिउँसो देखाइन्छ ।
टाउकोमा राक्षसको खप्पर लगाएर कालिकाको फरिया, ब्लाउजमा सजिएको व्यक्तिलाई स्याउलाको लुगा, बाँदरको खप्पर र बोराको पुच्छर बनाएको केटाकेटीहरूले जिस्क्याउँदै अनि लात्तीले हान्दै नाचिने यो नाच हेर्दा समेत निकै रोमाञ्चक तथा अनौठा लाग्छ । धार्मिक पुरानलाई आधार मान्ने हो भने सामाजिक रमाइलो तथा आध्यात्मिक दृष्टिले न्याय र सत्यको विजयको खुसियालीमा कपुरकोट गाउँपालिका क्षेत्रमा २०१० साल देखि लाखे नाच नाच्न थालिएको साहित्यकार तथा लाखे नाच सम्बन्धी जानकार भद्रसिंह बुढाको भनाई छ ।
लाखे नाचका क्रममा स्थानीय लोकभाका, भेषभूषा र चालचलन एवं रोपाइँ जात्रा, घोडे जात्रा, गाई जात्रा, राउटे जात्रा, वैरागी जात्रा र अन्य जात्रा देखाउँदै समाजका विभिन्न विकृति माथि व्यङ्ग्य प्रहार गर्ने र सर्वसाधारणलाई मनोरञ्जन दिने गरिन्छ । लाखे नाच सहित कपुरकोट गाउँपालिकामा रहेका बिभिन्न मौलिक संस्कृतिलाई पालिकाको सार्वजनिक सम्पत्तिका रुपमा संरक्षण गर्ने अभियानमा गाउँपालिका पनि लागि परेको छ ।
कपुरकोट गाउँपालिकाको १३ गाउँसभाबाट कपुरकोट जागरण कार्यक्रम बनाई पालिका भित्र रहेका बिभिन्न मौलिक लोक संस्कृतिको संरक्षण, प्रवर्द्धन पुस्तान्तरणका लागि विशेष अभियानको सुरुवात गरिएको उपाध्यक्ष प्रकाश भण्डारीको भनाई छ ।।