तुलसीपुर, १७ भदौ । आजभोली दाङको तुलसीपुर बजारमा दैनिक एउटा न एउटा लाखे नाचको समुह देख्न सकिन्छ । यो समुहमा नाच्ने व्यक्तिको पहिरन फरकफरक हुन्छ । लाखे नाच्नेको पहिरन अन्यको भन्दा धेरै फरक हुन्छ । अनुहारमा राक्षसको स्वरूपमा बनाइएको खप्पर, टाउकोमा लामो बाक्लो झ्यापझ्याप गर्ने कपाल, हातमा रातो सेतो रङको धजा, नाङगो खुट्टा, लेहेङगा लगायत स्थानिय भेषभूषामा सिंगारिएको लाखे । खोजीखोजी पुराना, च्यातिएका, स्याउलाको लुगा, बोराको पुच्चर, अनुहारमा खप्पर लगाएको स्वाङगे, आफ्ना समुहका साथीहरुसँग जिस्किदै, नाच हेर्ने दर्शकहरुलाई जिस्क्याउँदै, बाटोमा हिड्ने सवारी साधनलाई रोकेर दक्षिणा स्वरुप पैसा माग्दै गरेको, कोही दुलहा हुलहीको रुपमा सजिएको यी दृश्यहरु देख्न सक्छौँ । लाखे नाचमा ढोलक, सनाई, मजुरा, धिमे लगायतका बाजा बजाउँदैे मादल र बाँसुरीको धुनमा लाखे नाच नचाइन्छ । दाङको तुलसीपुर उपमहानगरपालिका १८ विजौरीका युवाहरु पनि यसै गरी नै लाखे नाच नाच्ने गर्छन् । उक्त समुहमा नाच्ने तुलसीपुर उपमहानगरपालिका ७ नयाँबस्तीका हिरासिंह नेपालीको लाखे नाच नाच्न थालेको लामो समय भइसक्यो । उनले यो नाच नाच्न थालेको २० वर्ष भन्दा वढी भइसक्यो । उनले लाखे नाचमा नाच्ने भन्दा पनि बाजा बजाउने गर्छन्, नाच्न पनि आउँछ तर उनी धेरैजसो बाजा बजाउँन रुचाउँछन् । उनले नयाँबस्तीबाट विजौरीको समुहमा लाखे नचाउनका लागि आउने गर्छन् । ‘हाम्रो ७ जनाको समुह छ । लाखे नाच्ने, बासुरी, ढोलक, बजाउने, स्वांगे बन्ने ७÷८ जनाको समुह छ । यो हाम्रो समुहमार्फत विजौरीको समुहमा हाामीलाई लाखे नाच नचाउन आइदिनुस् भन्नुहुन्छ अनि आउँछौँ,’ उनले भने । उनले विशेष गरी ढोलक बजाउँछन् । ढोलक अन्य चाडपर्व विवाह, पुजापाठमा बजाउन नमिल्ने र लाखे नाचमा मात्रै बजाउन मिल्ने मान्यता रहेको उनी बताउँछन् । यस्तै विजौरीको विमल नेपाली पनि लाखे नाच नाच्दै आएका छन् । यस वर्ष भन्दा अगाडि लाखे नाचको बारेमा थाहा नभएका उनी आफ्नो बुवाले लाखे नाच नाच्न जानु पर्छ भनेपछि आएका हुन् । नेपाली संस्कृति परम्परालाई बचाउन दिनका लागि पनि यो नाचलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिने उनको सोचाइ छ । ‘आफू विद्यार्थी भएकाले पनि ध्यान पढाईमा नै केन्द्रित गरेको भएर पनि होला सायद यो नाचको बारेमा त्यति जानकारी थिएन । नाच्न जाने समय पनि हुँदैनथ्यो, बाबाले नाच्न जा भने पछि साथीहरुलाई आएको देखेर म पनि आएँ । यो हाम्रो कला संस्कृति हो यसलाई हामीले बचाउनुपर्छ, निरन्तरता दिनुपर्छ । आगामी दिनमा मैलै पनि निरन्तरता दिनेछु,’ नेपालीले भने । दाङको तुलसीपुर उपमहानगरपालिका १८ विजौरीका युवाहरु पछिल्लो समय लाखे नाच संरक्षणमा जुटेको लाखे नाचका अगुवा शुशील आचार्यले बताए । गठे पर्वदेखि जन्माष्टमी सम्म नाचिने यो नाच संरक्षणमा जुटेको उनको भनाई छ । तुलसीपुर १८ विजौरीको टोलीले विगत लामोसमयदेखि नाचिरहेको भएपनि कोराना भाइरस संक्रमणले केही वर्ष रोकिएको नाच यस वर्षबाट फेरी सुरु गरेका छन् । नेपाली संस्कृति परम्परालाई निरन्तरता दिनका लागि यो नाचलाई आगामी वर्षहरुमा निरन्तरता दिने उनले बताए । ‘तुलसीपुर ७ नयाँबस्तीका हिरासिंह नेपाली सहित ७ जनाको समुहलाई बोलाएर विजौरीमा लाखे नाच नाच्ने गरेका छौँ । यो समुह ६०÷७० जनाको छ । १५÷१६ वर्षदेखि ५०÷६० वर्ष उमेर समुहका व्यक्तिहरुको सहभागिता रहेको छ । उमेर,व्यक्ति केही पनि नतोकेर नितान्त लाखे नाचको संरक्षण गर्ने र नयाँ पुस्तामा हस्तान्तरण गर्ने हाम्रो उदेश्य हो’, उनले भने । भोलीका दिनमा हाम्रा छोरानातीले पनि हाम्रो परम्परा यस्तो थियो भन्ने जानुन्, थाहा पाऊन्, भनेर नाच आफ्नो टोलबाट नाच निकालिएको बताए । ‘जन्माष्टमीमा कंशलाई मार्छन् । लाखे भनेको कंश अर्थात राक्षसको प्रतीक हो । गठे पर्वदेखि जन्माष्टमी सम्म नाचिन्छ । यो पर्वको वीचमा जतिदिन पर्छ त्यति दिन नाचिन्छ र जन्माष्टमीको भोलीपल्ट विर्सजन (लाखे मार्ने) गरिने परम्परा छ । तर जन्माष्टमीपछि नाच्छु भनेर पनि नाच्न नमिल्ने धार्मिक मुल्यमान्यता रहेको हाम्रा अग्रजहरुले भन्नुहुन्छ,’ आचार्यले भने । नेवार समुदायको परम्परागत संस्कृति भएपनि अन्य समुदायमा पनि प्रचलित रहेको र नेवार वाहेक अन्य समुदायले पनि संरक्षणका लागि नाच्ने भएकाले यसलाई गर्व गर्ने नेवारहरुको राष्ट्रिय संगठन केन्द्रिय समितिका उपाध्यक्ष नरेशराज भण्डारीले बताए । ‘नेवार समुदायमा बढी प्रचलित रहेको लाखे नाच लोप हुन नदिनका लागि अन्य समुदायमा पनि नाचिन्छ । जुन धेरै राम्रो पक्ष हो । एक समुदायले अर्को समुदायको चाडपर्व मनाउनु र गैर समुदायको नाचगानलाई संरक्षण गर्नु नागरिकको दायित्व र कर्तव्य पनि हो,’उनले भने । ‘आधुनिकता विकाससँगै स्थानीय संस्कृतिको मौलिकता हराउने अवस्था आएकाले यसलाई नयाँ पुस्तासम्म पु¥याउन आवश्यक रहेको छ । आधुनिकताको विकाससँगै कतिपय मौलिक परम्परा हराउँदै आएको अवस्था छ । यस्ता कुराको संरक्षणमा राज्यले पनि ध्यान दिन आवश्यक छ । नागरिकस्तरबाट पनि संरक्षण तथा विकासमा भूमिका खेल्नुपर्ने अवस्था पनि छ । सभ्य समाज निर्माणको लागि एक जातिले अर्को जातिको संस्कार संस्कृतिलाई सम्मान गर्न आवश्यक छ । कतिपय संस्कृत पुस्तान्तरणसँगै लोप हुँदै गएको अवस्था पनि छ,’ उनले भने, हामी जो जहाँ रहे पनि आफ्नो संकृतिलाई भुल्न हुन्न । संस्कृतिलाई बचाउँदै अर्को पुस्तासम्म पु¥याउन सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्न आवश्यक रहेको राजभण्डारीको भनाई छ । तुलसीपुर ३ को राणागाउँ, ११ को वेलटाकुरा, १३ को ढकना लगायतका विभिन्न स्थानमा जन्माष्टमीमा लाखे नाचको जात्रा लगाइन्छ ।
























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।