तुलसीपुर, २२ साउन । सुरक्षित वैदेशिक रोजगारी सम्बन्धि सुचना, परामर्श तथा सेवामा सहजिकरणका लागि सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत दाङको तुलसीपुर उपमहानगरपालिकाद्धारा संचालित आप्रवासी स्रोत उपकेन्द्र तुलसीपुरमा परामर्श लिनेहरु बढ्दै गएका छन् । इलाका प्रशासन कार्यालय तुलसीपुरमा रहेको उक्त उपकेन्द्रमा सेवा लिनेहरु बढ्दै गएको उपकेन्द्रकी परामर्शकर्ता प्रिती घर्तीमगरले जानकारी दिनुभयो । यस उपकेन्द्रबाट सल्लाह सुझाव लिएर विदेश जाँदा ठगिने सम्भावना कम हुन्छ, विदेशमा जस्तोसुकै समस्या पर्दापनि सहयोग गर्छ, भन्ने कुराको जानकारी पाएपछि सेवा लिनेहरुको संख्या बढ्दै गएको उहाँले बताउनुभयो ।
यो परियोजना सुरु भएपछि परामर्श लिनेहरु पहिले दैनिक ३०÷३५ जना मात्रै आउने गरेकोमा अहिले दैनिक ६०÷६५ जना आउने गरेको उहाँले बताउनु भयो । उहाँका अनुसार ३ आर्थिक वर्षको अवधिमा करिब १४ हजारले परामर्श लिएका छन् । आर्थिक वर्ष २०७७÷०७८ देखि हालसम्ममा १३ हजार ८ सय १६ जनाले परामर्श लिएका हुन् । जसमा १० हजार ३ सय ३ जना पुरुष र ३ हजार १ सय १३ जना महिला रहेका छन् ।
आर्थिक वर्ष २०७७÷०७८ मा ६ सय २ जना पुरुष र १ सय ८५ जना महिला गरी ७ सय ९२ जना, २०७८÷०७९ मा ३ हजार १ सय ८७ जना पुरुष र ११ सय २३ जना महिला गरी ४ हजार ३ सय १० जना, २०७९÷०८० मा ६ हजार ६ सय ७८ जना पुरुष र १९ सय ७८ महिला गरी ८ हजार १ सय १ जनाले सल्लाह तथा परामर्श लिएका छन् । यस्तै आर्थिक वर्ष २०८०÷०८१ को साउन १५ गतेसम्म ४ सय ३१ पुरुष र १ सय ८२ महिला गरी ६ सय १३ जनाले परामर्श लिएका छन् । वितेको आर्थिक वर्षमा विदेशमा गएर अलपत्र परेका, मृत्यु भएका, विदेशमा काम तलव फरक परेका, विरामी भएका, हराएका, जेल परेका, ठगिका गरी १ सय ५७ वटा निवेदन आएका थिए भने चालु वर्षको साउन १५ सम्म मात्रै ५ वटा निवदेन आएकोे परामर्शकर्ता मगरले जानकारी दिनुभयो । यस उपकेन्द्रले वैदेशिक रोजगारीमा जानेहरुको लागि निशुल्क तालिमका लागि सिफारिस समेत गर्ने गरेको छ । यस उपकेन्द्रले सिफारिस गरेर २ वर्षको अवधिमा ५७ जनाले तालिम समेत लिएका छन् । यसरी आप्रवासी स्रोत उपकेन्द्रको तथ्याँकलाई हेर्ने हो भने वैदेशिक रोजगारमा जाने युवाहरुको संख्या दिनप्रतिदिन बढिरहेको देखाएको छ ।
टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।