२०८३ मङ्सिर १० गते बिहिवार

कृषि वनमा आधारित सहकारी मोडेलका विषयमा तुलसीपुरमा छलफल

तुलसीपुर, १३ असार । कृषि वनमा आधारित सहकारीको मोडेलका विषयमा तुलसीपुरमा छलफल गरिएको छ । ग्रिन फाउण्डेसन दाङको आयोजनामा भएको कार्यक्रममा बचत गर्ने र ऋण लग्ने परम्परागत सहकारीहरु असफल भइरेकाबेला कृषि वनमा आधारित सहकारीको सम्भावना, बजारिकरण र चुनौतिका विषयमा व्यापक छलफल गरिएको हो ।

प्राकृतिक स्रोत साधनको दृष्टिकोणले प्रचुर सम्भावना रहेको कृषि वनमा आधारित सहकारीको अवधारणाले आर्थिक क्षेत्रमा देखिने गरि परिवर्तन ल्याउन सक्ने सरोकारवालाहरुले बताएका छन् । नीतिगत समस्याका कारण वनमा आधारित काष्ट उद्योग बन्द अवस्थामा रहेको बताउँदै सामुदायिक वन महासंघका लुम्बिनी प्रदेश महासचिव शोभाकर सापकोटोले कानुनी अड्चनलाई परिमार्जन गरेर सहजता ल्याउनु पर्नेमा जोड दिनुभयो ।
सहकारी मार्फत चिउरी, दुनाटपरी, सःमिल जस्ता कृषि वनमा आधारित विभिन्न उद्यमहरु सञ्चालन गरेर स्वरोजगारका अवसर सृजना गर्नुका साथै उद्यम विकासले आत्मनिर्भरताको वृद्धिमा समेत टेवा पुग्ने महासचिव सापकोटाले बताउनुभयो । हरेक छलफलमा मैले के गर्नुपर्छ भन्दा पनि के पाइन्छ भन्ने सोचका साथ सहभागी आउने भएकाले आर्थिक उत्पादनसंग जोडिएका गोष्ठिहरु उपलब्धी बिहीन हुने गरेको दंगीशरण गाउँपालिकाका निवर्तमान अध्यक्ष भागीराम चौधरीले बताउनुभयो ।

मानिसहरु उत्पादनमुखी नहुँदा विगतमा लाखौ रुपैयाँ अनुदानमा संचालनमा रहेका उद्यमहरु अहिले बन्द अवस्थामा रहेको चौधरीले बताउनुभयो । स्थानीय स्तरमा उपादित वस्तुको गुणस्तरीयता र स्वास्थ्यको दृष्टिकोणले यसको महत्वका विषयमा जानकारी गराउन नसक्दा अमेरिकामा बनेको कोकोकलाले मोटरबाटो नपुगेका ठाउँमा समेत बजार जमाएर बसेको तुलसीपुरका पूर्व मेयर घनश्याम पाण्डेले बताउनुभयो । त्यसका लागि स्थानीय स्तरमा उत्पादन भएका वस्तुको अधिकतम उपभोग गर्नुपर्ने पाण्डेले जोड दिनुभयो ।

उत्पादित बस्तुले बजार नपाउँदा ठूलो समस्या पैदा भएको भन्दै यसतर्फ सरोकारवाला निकायको ध्यान जान जरुरी रहेको सहभागीले बताएका थिए । सो अवसरमा कृषि वनमा आधारित सहकारीको मोडेल, यसको स्रोत, सम्भावना, बजारीकरण, सम्भावित क्षेत्र लगायतका विषयमा कृषि अभियानकर्मी रुपबहादुर खत्री, केपी भण्डारी, दिपक परियार लगायतले आ–आफ्नो प्रस्तुतीकरण राखेका थिए । छलफलमा तुलसीपुर, दंगीशरण, शान्तिनगर र बबई गाउँपालिकाका सहकारी शाखा प्रमुख, केन्द्र, प्रदेश र स्थानीय वन महासंघ, डिभिजन वन, सहकारीका अगुवा र उद्यमीहरुको सहभागिता रहेको थियो ।  ग्रिन फाउण्डेसनका अध्यक्ष विष्णु केसीकाे अध्यक्षतमा भएकाे कार्यक्रमकाे सहजी करण सचिव सुरेश रावतले गर्नु भएकाे थियाे ।

प्रकाशित मिति : २०८० असार १३ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।