२०८३ मङ्सिर १० गते बिहिवार

मुख्यमन्त्री चौधरीले नदेखेको टरिगाउँ एयरपोर्ट !

४० अर्ब बजेट आउँदा एयरपोर्टलाई ० रुपैयाँ 

तुलसीपुर, २ असार । लुम्बिनी प्रदेश सरकारले ल्याएको बजेटमा टरिगाउँ एयरपोर्टका लागि ० बजेट विनियोजन गरिएको छ ।  दाङको तुलसीपुर घर भएका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी नेतृत्वको लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ लागि ल्याएको ४० अर्ब बजेटमा टरिगाउँ एयरपोर्टको स्तरवृद्धिका लागि एक रुपैयाँ बजेट नपर्नुले यस क्षेत्रका नागरिकहरू निराश भएका छन् ।  मुख्यमन्त्री चौधरी बस्ने डूम्रीगाउँ र एयरपोर्टको दूरी करिब १ किलोमिटर मात्र टाढा छ ।

निर्वाचनको समयमा टरिगाउँ एयरपोर्टलाई मुख्य नारा बनाएका चौधरी स्वयम् मुख्यमन्त्री हुँदा समेत  बजेट नपरेपछि आम नागरिकले शङ्काको दृष्टिकोणले हेर्न थालेका छन् । मुख्यमन्त्री चौधरी र बजेट प्रस्तुत गर्ने आर्थिक मामिला मन्त्री धनबहादुर मास्की पनि पश्चिम दाङकै भएकाले यस क्षेत्रका नागरिकले बढि अपेक्षा गरेका थिए ।  

२ करोड तुरुन्त दिन्छु भनेर मुख्यमन्त्रीले ढाँट्नुभयो – स्यानी चौधरी 

टरिगाउँ एयरपोर्ट विस्तार सहयोग समितिका संयोजक तथा तुलसीपुर उपमहानगरपालिका उपमेयर स्यानी चौधरीले लुम्बिनी प्रदेश सरकारले बजेट नहाल्नु दुःखको कुरा भएको बताउनु भएको छ । करिब २ महिना अघि मुख्यमन्त्री डिल्ली बहादुर चौधरी र आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीलाई टरिगाउँ एयरपोर्टमा फूलमालाले स्वागत गर्दै ध्यानाकर्षण पत्र सहित डीपीआर बुझाएको र मुख्यमन्त्रीको कार्यकक्षमा पनि गएर डिपीआर बुझाएको बताउनुभयो ।

‘२ महिना अघि हामीले मुख्यमन्त्री चौधरी र आर्थिक मामिला मन्त्री मास्कीलाई टरिगाउँ एयरपोर्टमा फूलमालाले स्वाग गरेर एयरपोर्ट विस्तारका लागि तयार पारेको डीपीआर पनि बुझायौ । मुख्यमन्त्रीले तुरुन्त काम सुरु गर्नुस् २ करोड बजेट म गएर हाल्दिन्छु भन्नुभयो । त्यसपछि २ करोडको इस्टमेट पनि लगेर मुख्यमन्त्रीलाई बुझाए । २ करोड बजेट पनि आएन । काम सुरु गरेको भए बरबाद हुनेथियो । अहिले पनि बजेट आएन ।’ उपमेयर स्यानी चौधरीले भन्नुभयो । 

बजेट नपरे पनि आफूले हरेस नखाएको बताउँदै अब प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डलाई भेटेर ज्ञापनपत्र बुझाउने बताउनुभाे ।  ‘ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती र अर्थमन्त्रालयमा गएर धावन मार्ग विस्तारका लागि डीपीआर बुझाउँदा दाङका सांसद आएर कोही टरिगाउँ भन्छन् । कोही नारायणपुर भन्छन् । अहिले देउखुरी पनि भन्न थालेका छन् । तपाईंले तपाईँका सांसदलाई मिलाउनुस् अनि बजेट हालौँला भनेर भने । यो खिचातानीले हाम्रो एयरपोर्ट ओझेलमा पु¥यो ।’ उपमेयर चौधरीले भन्नुभयो ।

यता मुख्यमन्त्री चौधरीका प्रेस संयोजक गोपाल शर्मा भट्टराईले  असार १० गतेपछि रातो किताबमा २० करोड पैसा आउने बताउनुभयो । संघीय सरकार अन्तर्गत पर्ने भएकाले बजेटमा नहालेको स्पष्ट पार्दै प्रदेश सरकारले छाप्ने रातो किताबमा बजेटको सुनिश्चता गर्ने दाबी गर्नुभयो । 

प्रकाशित मिति : २०८० असार २ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।