तुलसीपुर १ असार । सरसफाइ तथा फोहरमैला व्यवस्थापन सम्बन्धि अन्तरकृया कार्यक्रम तुलसीपुरमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयका वातावरण निरिक्षक निर्मल चौधरीले बढ्दो शहरीकरण र औद्योगिकरणका कारण स्थानीय सरकारलाई फोहरमैला व्यवस्थापनमा चुनौती थपिएको बताउनुभयो ।
कुनै पनि स्थानीय तहहरुमा फोहरमैला व्यवस्थापनका लागी तथ्याङ्क र योजना नहुँदा समस्या हुने गरेको बताउदै वडा तहमा नै फोहोर व्यवस्थापनको काम भए स्वच्छ वातावरणमा सघाउ पुग्ने उहाँले बताउनुभयो ।
यस्तै भु–संरक्षण कार्यालय तुलसीपुरका प्रमुख शेषदत्त चौधरीले कुनै पनि विकास निर्माणका कामका लागी नागरिकको सहभागिता भए मात्रै सम्भव हुने बताउनुभयो । यस्तै मानविय क्रियाकलापकै कारण जलवायु परिवर्तनमा ठुलो असर देखिरहेको उहाँले बताउनुभयो । यस्तै तुलसीपुरको फोहोर व्यवस्थापन र सरसफाईको अवस्था, चुनौतीका विषयमा जानकारी दिदै सरसफाइ तथा फोहरमैला व्यवस्थापन शाखा प्रमुख माधव पौडेलले तुलसीपुरमा अहिले दैनिक २५ टन फोहोर उत्पादन हुने गरेको र उक्त फोहोर मध्ये १७ टन कुहिने र बाँकी नकुहिने फोहोर उत्पादन हुने गरेको बताउनुभयो ।
कुहिने फोहोरलाई जैविक मल उत्पादन केन्द्रबाट दैनिक ४० किलो मल उत्पादन भईरहेको बताउनुभयो । यस्तै उक्त मल अहिले स्टकमा नै राखेको र परिक्षण पछि मात्रै प्रयोगमा ल्याउने तयारी भएको उहाँले बताउनुभयो । सो अवसरमा तुलसीपुर उद्योगबाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष टोपबहादुर घर्ती, सरसफाइ अभियान्ता बिमल रिजाल लगायतले सरसफाइ आफुबाटै सुरुवात गर्नुपर्नेमा जोड दिएका थिए ।
तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख टिकाराम खड्काको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सुचना अधिकारी बाबुराम न्यौपानेले गर्नुभएको थियो । कार्यक्रम अघि तुलसीपुरको वीरेन्द्र चोकमा सरसफाइ गरिएको थियो भने सरसफाइ समाग्री समेत उपमहानगरलाइ प्रदान गरिएको छ । लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्राललयको आयोजना तुलसीपीपुर उपमहानगरको समन्वयमा कार्यक्रम भएको थियो ।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।