तुलसीपुर,९ जेठ । तुलसीपुर उपमहानगरपालिकाले घर नक्सा पासबीना निमार्ण गरेका घरकाे अभिलेखिकरण नगर्नेलाई सेवाबाट बञ्चित गर्ने बताएको छ । हरेक नागरिकलाई करको दायरामा ल्याउन शहर देखि गाउँसम्म नक्सा पासबिना निर्माण गरिएका पक्कि वा कच्चि घरको अभिलेखिकरण असार मसान्तसम्म अनिवार्य गर्न भनेको छ । आर्थिक वर्षको साउन महिनादेखि वडाले कुनै पनि सिफारिस दिदा घर नक्सा पास वा घरको अभिलेखिकरण गरेको प्रतिलिपी अनिवार्य माग्ने भएकाले सबै नागरिक करको दायरामा आउने नगर प्रवक्ता माधव वलीले बताउनुभयो ।
सिफारिस लिन आउने नगरवासीले घर नक्सा वा घरको अभिलेखिकरण पुष्टि हुने कागजात नल्याएमा सेवा नदिने उपमहानगरका आर्थिक समितिका संयोजक समेत रहनुभएका वलीले बताउनुभयो । गाउँका करिब ९० प्रतिशत घरहरु नक्सा पासबीना निर्माण गरिएको तुलसीपुर उपमहानगरपालिका राजश्व शाखा प्रमुख ललित घर्तीले बताउनुभयो ।
तुलसीपुर उपमहानगरले पक्की घरको १ हजार, कच्चि घरको ५ सय, अव्यवस्थीत बसोबासीका लागि १ सय, भूमिहिन दलितका लागि ५० र भूमिहिन सुकुमबासीका लागि ५० रुपैयाँ वार्षिक कर निर्धारण गरेको छ । ऐलानी जग्गामा घर हालेकालाई भने घरको अभिलेखिकरण गर्नुपर्ने राजश्व शाखा प्रमुख घर्तीले बताउनुभयो । असार महिनासम्म करको दायरामा आउनेलाई ५० प्रतिशत छुट दिने समेत आर्थिक ऐनमा व्यवस्था गरिएको छ ।
तुलसीपुर उपमहानगरपालिका–८ नम्बर वडा कार्यालयमा गरिएको नगरको सेवा र आर्थिक ऐनका विषयमा भएको छलफलमा सहभागी नागरिकले करको मात्रै चिन्ता भन्दा पनि प्रदान गरिने सेवा सुविधाका विषयमा समेत ख्याल गर्न आग्रह गरेका थिए । उनिहरुले बाटोको लगत कट्टा देखि सिचाई, खानेपानी लगायत अन्य पूर्वाधार निर्माणमा ध्यान दिन आग्रह गरेका थिए ।
वडा अध्यक्ष धर्मराज वलीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण वडा सचिव सम्भु प्रसाद शर्माले गर्नुभएको थियो । सो अवसरमा रेडियो प्रकृति एफएमका स्टेशन म्यानेजर ओपेन्द्र बस्नेत, नेकपा एमालेका जित बहादुर खडका, नेपाल कम्युनिष्ट पार्टीका मेघराज पाण्डे, नेकपा माओवादी केन्द्रका यमप्रसाद सुवेदी, राष्ट्रिय स्वतन्त्र पार्टीका मेघराज केसी , वडा सदस्य तुल प्रसाद खराल लगायतले आ–आफ्ना धाराना राखेका थिए ।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।