२०८३ कार्तिक १२ गते बिहिवार

पुत्र वियोगमा छटपटाइरहेकी आमालाई छाेराकाे लास पाउन २० लाख मागेपछि ‍….

तुलसीपुर, २९ चैत्र । मेरो छोरो ल्याइदेऊ के छिटो । एकै पटक भएपनि  मुख त देखाइदेऊ । उल्टै सम्झाउने छोराले मलाई छोड्यो भनेर म कसरी विश्वास गरूँ ? जापानको ओकिनावामा पढ्ने बाहनामा कमाउन गएको २२ वर्षको छोरा सुदीप बुढाको मृत्युको खबर आएपछि  विछिप्त बनेकी तुलसीपुर – ३ पैयाँखोरे निवासी हरिकला बुढाले सहानुभूतिका लागि भेट्न जाने आफन्तजन, इष्टमित्र, शुभचिन्तक सबैलाई छोरो ल्याइदेऊ मुख हेरेपछि मात्रै विश्वास गर्छु भन्दै बिलौना गर्छिन् ।  ‘ममी छोरो र ऋणको केहि चिन्ता नगर्नुहोला । पढाई पनि राम्रो छ । कमाई पनि राम्रो छ भन्दै अघिल्लो दिन भिडियोमा बोलेको छोरालाई कसले मारिदियो ?  मेरो छोराले के बिगारेको थियो र ? मारेउ ?’ हरिकलाको मुखबाट बारम्बर निस्किने शब्द हो यो ।

चैत्र १६ गते शुक्रबार राति ८ बजे बाआमालाई सम्झाउँदै आइतबार २ लाख रुपैयाँ खातामा पठाइदिन्छु भन्दै फोन राखेको छोराको मृत्युको खबर आइतबार बिहान ११ बजे पाएका घरपरिवारलाई सपना जस्तै लागेको छ । सुदीप आफू बस्ने कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेको भन्दै खबर आएको थियो । विपन्न परिवारले साहुऋण गरेर १९ लाख खर्चमा ८ चैत्र २०७८ मा जापान पठाएको थियो । छोराले कमाएर पठाएको १६ लाख रुपैयाँ ब्याज तिर्न ठिक्क भएपनि १९ लाख  ऋण भने तिर्न बाँकी रहेको बुवा कर्णबहादुर बुढाले बताए । जापान जानका लागि एक वर्ष अघि पैसा पठाए पनि कोभिडका कारण समयमै जान नपाउँदा ब्याज धेरै भएको कर्णबहादुरको भनाई छ । 

 

दशैमा आमा र सुदीप 

घटना प्रति आशंका  ‘गएको वैशाख ४ गते भएको स्थानीय निर्वाचनमा वडा सदस्यमा उठन्स बुवा भनेर मलाई उठाउने त्यही छोरो हो । साहुऋणको कुनै टेन्सन नगर्नुस भनेर सम्झाउने त्यही छोरा हो ।  कुनै बेला निराशाजनक कुरा गरेन । बरु आफुहरुसंग संगै काम गर्ने साथीहरूले डाह गर्छन सापटी दिएको पैसा दिएका छैनन् भनेर मात्रै भनेको थियो ।’  कर्णबहादुरले  भने । विद्यालयले सुसाइट भने पनि घटना शंकास्पद रहेको उनको भनाई छ ।

जापानबाट फर्केर आएपछि माछा मार्ने भनेर सुदीपले बुनेर राखेका माछा मार्ने ढर्रे

छोराको लाश नेपाल ल्याउन २० लाख पठाउन विद्यालयको दबाब  साहुऋण गरेर छोरालाई जापान पठाएको एक वर्षमै छोराको मृत्युको खबरपछि पीडामा डुबेको परिवारलाई विद्यालयले नेपाल शव लग्नका लागि २० लाख पठाउन बारम्बार दबाब दिने गरेको छ ।  टि.सी.एलसी ओकिनावा जापानी भाषा  स्कुलका सम्पर्क व्यक्ति बताउने नेपाली शिक्षक रामप्रसाद आचार्यले २० लाख पठाएर लाश छिटो लैजान  दबाब दिइरहेको कर्णबहादुरले बताए । पीडित परिवारले २० लाख रुपैयाँ पठाउन नसक्दा  छोराको लाश ७ दिनदेखि जापानमै रहेको छ । सम्पत्तिको नाममा रहेको घरबास र एक कठ्ठा खेत पनि छोरो पठाउँदा ल्याएको ऋणले बन्धकीमा छ ।

दुःखमा  साहनुभूतिका लागि गएका आफन्तहरु

‘मरेको भएपनि बाँचेको भएपनि मलाई छोरो चाहियो भन्दै छाति पिटिपिटी उनी रुन्छिन् । राति उठेर छोराले बुनेको माछा मार्ने ढर्रे, पेरुङ्गो, स्याँउ राखेको ठाउँमा गएर बसेकी हुन्छिन् । सम्झाउँदै ल्याउँछु । सम्हाल्न निकै गाह्राे छ ।’  कर्णबहादुर भने ।  पैसा नहुँदा सतगतका लागि मरेको छोराको समेत लाश नपाउनु एउटा बुवाआमाको यो भन्दा ठूलो बज्रपात पीडा अरु नहुने बताउँदै बुढाले आवश्यक पहल कदमीका लागि नेपाल सरकार  सबै राजनीतिक दलहरूलाई आग्रह गरेका छन् ।

‘यो देशको एउटा गरिब परिवारभित्र कठिनपूर्ण सङ्घर्षबाट हुर्किएको एउटा नागरिक हुँ । मेरो पीडाले यदि हजुरहरूलाई कँही कतै छुन्छ भने मेरो बिन्ती छ नेपालसम्म ल्याइदिने कोसिस गरिदिनुस् ।’ भक्कानिदै बुढाले भने । 

मृत्युकाे खबर पछि  सुदीपकाे घरमा जँदै गरेका आफन्त 

प्रकाशित मिति : २०७९ चैत्र २९ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।