तुलसीपुर, २६ पुस । नेकपा एमालेका केन्द्रिय सदस्य घनश्याम पाण्डेले निर्वाचनमा अन्तरघात गर्नेलाई अपराधका आधारमा कारबाही गर्नुपर्ने बताउनु भएको छ । आफनै पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेल्नेलाई कारबाही नगर्दा आत्मबल झनै बढ्ने भएकाले इतिहासमा दर्ज हुनेगरि लिपिवद्ध गरेर कारबाही गर्नुपर्ने बताउनुभयो । नेकपा एमाले प्रदेश समन्वय कमिटीको आयोजनामा तुलसीपुरको पार्टी कार्यालयमा भएको निर्वाचनको समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले यस्तो बताउनु भएको हो ।
‘जो जसको नाम आएको छ । जसलाई संका लागेको छ । उहाँको नाम लिपिवद्ध गरौं । कस्तो कारबाही गर्ने हो । अपराधका आधार गरौ । नत्र आगामी दिनमा पनि यस्तो समस्या दोहिरिन सक्छ । तर आग्रह, पूर्वाग्रह, नजिक या टाढाको हिसाबले होइन । सत्य तथ्य र प्रमाणका आधारमा कारबाही गर्नुपर्छ ।’ पाण्डेले भन्नुभयो । सत्ताको चरम दुरुपयोग, जातीय नारा र कडा गठबन्धनका कारण निर्वाचनमा अपेक्षा गरे अनुसार नतिजा नआएको केन्द्रिय सदस्य पाण्डेले बताउनुभयो ।
पाण्डेकाे अडियाे सुन्न तल क्लिक गर्नुहाेस ।
त्यसैगरी सोही कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य कोमल वलीले आफ्नै पार्टीका पनि केही तप्काले घण्टीमा भोट दिएका कारण सोचे अनुसार परिणाम आउन नसकेको बताउनुभयो । ‘पार्टीका जिम्मेवार नेता, कार्यकर्ताले एमालेले अघि सारेका एजेण्डालाई जनताको माझमा स्थापित गराउन नसक्दा पनि समस्या भएको ओलीले बताउनुभयो । चुनावमा सबै खट्नुभयो । मत नआएको होइन, आएको छ । तर संसद्मा उपस्थिति हुनेगरि आउन सकेन । यो जनताले मत नदिएर नै भएको हो । त्यसकारण दृढ संकल्पका साथ लाग्न सकिएन ।’ ओलीले भन्नुभयो ।
समन्वय कमिटीका अध्यक्ष बालकृष्ण रानाको अध्यक्षतामा भएको समीक्षा कार्यक्रममा प्रदेश सांसद रेखा शर्मा, एमाले जिल्ला कमिटी दाङका अध्यक्ष हुकुमबहादुर बस्नेत, सचिव मनोहर बुढाथोकी लगायतले बोल्नु भएको थियो । सो अवसरमा अन्य सहभागीले एमालेका नेतादेखि वडा अध्यक्षहरूका समेत विपक्षीको पैसामा बिक्री भएकाले त्यस्ता व्यक्तिलाई पार्टीले यथाशीघ्र कारबाही गर्नुपर्ने माग राखेको परदेश समन्वय कमिटी सचिव तुलसा पोख्रेलले बताउनुभयो ।।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।