तुलसीपुर, १४ असार । दाङको तुलसीपुरमा श्रीमानले श्रीमतीको शरिरमा पेट्रोल छर्केर हत्याको प्रयास गरेका छन् । दिउँसो करिब १ बजे तुलसीपुर – ९ बेलुवामा घरमै बसेकी २८ बर्षकी श्रीमती माया श्रेष्ठलाई ४२ बर्षका श्रीमान उज्ज्वल चनाराले पेट्रोल छर्केर आगो लगाएर हत्याको प्रयास गरेका छन् ।
‘आगो लगाउँछु भन्दै सुरुमा घरभरी पेट्रोल छर्कीनुभयो । मलाई पनि छर्कीदिनुभयो । मैले यस्तो गर्नुहुँदैन भन्दा धकेलाधकेल र खोसाखोस भयो । सलाई खोसेर मुखमा हालेर चपाए । ग्यास चुलो बालेर पलाष्टिक सल्काएर म पट्टी फालिदिनुभयो । ह्वारर आगोले टिप्यो । बाहिरबाट छिट्कनी लगाएर मलाई थुन्नुभयो । म चिच्याउँदै छतमा गएर छिमेकिको घरमा हामफालेर सडकमा आएपछि सबै आएर आगो निभाउनुभयो ।’ पिडित श्रेष्ठले आगोले जलेका हात र खुट्टा देखाउँदै भन्नुभयो ।
पिडितका अनुसार यस अघि पनि २ पटक आगो लगाएर हत्याको प्रयास गरेका थिए । दिउँसो आगो लगाउने क्रममा ६ बर्षकी छोरी भने स्कुल गएकी थिइन् ।
‘मानसीक टर्चर र कुटपिटको त कुनै लेखाजोखा छैन । राप्ती प्रादेशिक अस्पतालमा उपचारत श्रेष्ठले भक्कानीदै भन्नुभयो,– ‘म क्यान्सर लागेकी छोरीको मुख हेरेर बसेकी छु । यस अघि पनि भारतको चन्ढीगढमा लगेर छोडेर भाग्नुभएको थियो ।’
यता ईलाका प्रहरी कार्यालय तुलसीपुरले आरोपी नियन्त्रणमा लिएको जनाएको छ ।
यस अघि पनि विभिन्न समयमा विवादकै कारण प्रहरीमा केस आइरहेको बताउँदै ईलाका प्रहरी कार्यालय तुलसीपरका डिएसपी श्यामु अर्यालले पिडितले दिने जाहेरीका आधारमा मुद्दा अघि बढने बताउनुभयो ।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।