२०८३ भाद्र ९ गते मङ्गलवार

एककरोड लागतमा तुलसीपुरमा नम : छु बौद्ध बिहार गुम्बा निर्माण

विभिन्न धार्मिक संस्कृतिको संरक्षण गर्नु सरकारको दायित्व हो :  मन्त्री चौधरी

तुलसीपुर, २७ जेठ । तुलसीपुर उपहानगरपालिका–५ मा एक करोड बढी लगानीमा नम : छु बौद्ध बिहार गुम्बा. निर्माण गरिएको छ । तुलसीपुर उपमहानगरपालिका र प्रदेश सरकारको ७९ लाख र अन्य सहयोगी दाताको ४१ लाख सहयोगमा बौद्ध बिहार गुम्बा, सभाहल र व्यवसायीक हल निर्माण गरिएको नेपाल मगर संघ दाङका सल्लाहकार टोपबहादुर घर्तीले जानकारी दिनुभयो । .

यसैबिच नव निर्मित गुम्बाको उद्घाटन गर्दै लुम्बिनी प्रदेश पर्यटन ग्रामिण तथा शहरी विकास मन्त्री डिल्ली बहादुर चौधरीले गुम्बालाई थप व्यवस्थित संगै यसको भौतिक संरचना निर्माणका लागि आगामी आर्थिक बर्षमा प्रदेश सरकारले ३० लाख बजेट विनियोजन गरेको बताउनुभयो । विभिन्न धर्म, संस्कृति, मौलिक परम्पराको पहिचान र तिनको संरक्षण गर्नु सरकारको दायित्व भएको बताउँदै मन्त्री चौधरीले आवश्यक सहयोगका लागि जहिले पनि आफु तयार रहेको बताउनुभयो ।

उद्घाटन कार्यक्रमाम तुलसीपुर उपमहानरपालिकाका मेयर टिकाराम खड्का, उपमेयर स्यानी चौधरी, सभासद अनारकली मिया, दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, निवर्तमान उपमेयर माया शर्मा, नेपाल मगर संघ दाङका अध्यक्ष खलु पुन मगर लगाएतले बोल्नु भएको थियो । नेपाल मगर वौद्ध सेवा समितिका अध्यक्ष मणी बुढा मगरको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव रामकुमार घर्तीले गर्नुभएको थियो ।

कार्यक्रममा सुनको जलप लगाएको गौतम वुद्धको मूर्ति उपलब्ध गराउने सुमन रानालाई गाडीमा राखेर बजार परिक्रमा गराइएको थियो भने अन्य सहयोगी दाताहरुलाई प्रमाणपत्रले सम्मान गरिएको थियो । गुम्बाको उद्घाटन गर्नुअघि तुलसीपुरको अरनीको मैदानबाट सुरु भएको झाँकी जुलस सहितको र्यालीले बजार परिक्रमा गरेर कार्यक्रम स्थलमा पुगेर सभामा परिनत भएको थियो ।

प्रकाशित मिति : २०७९ जेष्ठ २७ गते शुक्रवार
प्रतिक्रिया