२०८३ जेष्ठ २५ गते सोमवार

स्यानी चौधरीले चुनाव जित्ने आधार

देशमा गठबन्धनको सरकार छ तर लहर र जनताको विश्वास भने नेकपा एमालेतिर उर्लिरहेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको विकास र समृद्धिप्रतिको प्रष्ट दृष्टिकोणका कारण जनताले एमालेको विकल्प देख्न सकेका छैनन् ।

एमालेको बढ्दो लोकप्रियताका बीचमा हुन लागिरहेको स्थानीय तहको निर्वाचनमा तुलसीपुर उपमहानगरपालिकाका तर्फबाट उप मेयरमा समाजसेवाका लागि जीवन समर्पण गरेकी कर्मठ इमान्दार उम्मेदवार स्यानी चौधरी चुनावी मैदानमा रहेकी छन् । गठबन्धनको बढ्दो अन्यौलताका बीचमा विजयी मानसिकतामा रहेका नेकपा एमालेका उम्मेदवारहरु जित सुनिश्चित भएको महसुस गरिरहेका छन् ।

स्यानी चौधरीले चुनाव जित्ने आधार ः
नेकपा एमालेको तर्फबाट उपमेयरको उम्मेदवारकारुपमा अगाडी सारेपछि “लो प्रोफाईल ” मा बस्न चाहने मलाई एकाएक जनताले शुभकामनासँगै बधाई दिन थाल्नुभएको छ । घरदैलोमा गएको बेलामा जनताको उत्साह देख्दा म निकै उत्साही छुँ । मैले हिजोका दिनमा समाजमा रहेका दुखी, गरिब, अनाथ र असहायहरुलाई केन्द्रमा राखेर जुन काम गरे त्यसले जनताका बिचमा मप्रति सकारात्मक दृष्टिकोण सृजना गरेको छ । उपमेयर जस्तो गरिमामय र महत्वपूर्ण पदको उम्मेदवार हुँदा मलाई जुन खालको उत्साह छ । जनतामा त्यो भन्दा धेरै गुणा बढी उत्साह देखेको छुँ । जनताको उत्साह देख्दा यसपटकको निर्वाचन मैले नै जित्नेछु भन्ने कुरामा विश्वस्त रहेकी छुँ ।
मुख्यपदमा महिलाकोतर्फबाट म मात्रै महिला उम्मेदवार भएको हुँदा महिलाहरुले राजनीतिक आस्था भुलेर मलाई नै नेतृत्वमा लैजानु हुनेछ भन्ने मेरो विश्वास हो । मुख्य नेतृत्वमा महिलाको सहभागिता नहुँदा महिलाका मुद्दाहरु ओझेल पर्ने अनेकानेक सम्भावनाहरु हुने गर्दछन् । महिलाका मुद्दा सही ढँगले स्थापित गराउनका लागि पनि मलाई महिलाहरुको विशेष साथ अवश्य प्राप्त हुनेछ । यहाँ महिला मतदाताको संख्या धेरै भएको हुँदा पनि मैले निर्वाचन जित्ने आधार निक्कै बलियो बनेको छ ।

अर्को कुरा म एउटा विकट गाउँमा जन्मिएर पनि संसार घुम्ने र बुझ्ने अवसर पाए । सामान्य परिवारकी छोरी भएर पनि मेरो संघर्षले मलाई अगाडी बढाएको हो । संसार घुम्दा र डुल्दा तुलसीपुरलाई कस्तो बनाउनु पर्दछ भन्ने कुरा मैले बुझेकी छुँ । अरु उम्मेदवारहरुभन्दा विकासको योजना बनाउने हिसाबले म बलियो उम्मेदवार हुँ ।

मेरो जीवनशैली निक्कै सामान्य छ । मेरो धरातल मैले राम्रोसँग बुझेकी छुँ । जनताले मलाई सधै आफ्नो साथमा पाउनुहुनेछ । उहाँहरुसँगै सहकार्य गरेर मैले तुलसीपुरलाई समृद्ध बनाउनेछु । मलाई केही गरौला, कमाउँला भन्ने कुनै पनि खालको लोभ र लालच छैन । जसरी आज अनाथ बालबालिकाका लागि काम गरेकी छुँ , भोलिका दिनमा त्यसरी नै तुलसीपुरका जनताका लागि काम गर्नेछु । हिजोका दिनमा मैले गरेको कामका आधारमा जनतामा मैले काम गर्न सक्छु भन्ने विश्वास देखिन्छ जसले गर्दा यसपटकको निर्वाचनमा मेरो विजय निश्चित जस्तै छ ।

तुलसीपुर भनेको थारुजातिको बाहुल्यता रहेको पालिका हो । मैले थारु समुदायको प्रतिनिधित्व गर्ने भएको कारणले गर्दा पनि त्यो समुदायको साथ मलाई अवश्य रहनेछ । आज थारु समुदायको एउटी छोरी संघर्ष गरेर तुलसीपुरको उपमेयर जस्तो पदमा निर्वाचन लडेकी छे अवश्य पनि त्यो समुदायका हरेकले यस कुरालाई मनन गरेर मलाई साथ दिनुहुनेछ ।

अन्य दलसँग आस्था राख्ने यो समुदायका केयौ मानिसहरुले मलाई भेटेर शुभकामना समेत व्यक्त गर्नुभएको छ । थारुले नेतृत्व गर्नका लागि पाएको यो अवसरलाई पक्कै पनि थारु जातिले अवसरकारुपमा लिएर मलाई मतदान गर्नुहुनेछ र मैले यहाँका केयौ गाउँठाउँमा विभिन्न समुह परिचालन गरेर निम्न वर्गका मानिसहरुको जीवनस्तर वदल्नका लागि मैले धेरै योगदान समेत दिएको छु ।

करिब १ हजार समूहसँग अत्यन्त निकट रहेर काम गरेको प्रतिफल मलाई यसपटक प्राप्त हुने विश्वास रहेको छ । मैले जहिल्यै जीवनमा अरुको भलो हुने काम गरे, सोझो बाटो मात्रै हिडे, समाजका लागि केही गर्नुपर्दछ भन्ने मात्रै सोचे, आफु भोकै रहेर पनि गरिब तथा निमुखा बालबालिकालाई सहयोग गरे । मेरो यो सामाजिक लगानीको प्रतिफल मलाई अवश्य प्राप्त हुनेछ र मैले संस्थागतरुपमा मेरो समाजसेवालाई अगाडी बढाउनेछु ।

प्रकाशित मिति : २०७९ बैशाख २७ गते मङ्गलवार
प्रतिक्रिया