२०८३ कार्तिक १३ गते शुक्रवार

सार्वजनिकस्थल सुरक्षित गराउनुपर्नेमा किशोरीहरुको जोड

तुलसीपुर, २० चैत्र । पछिल्लो समय सार्वजनिकस्थललाई  सुरक्षित गराउनुपर्ने आवाज उठ्न थालेको छ । विद्यालय देखि अस्पताल, यातायात लगाएतका सार्वजनिक स्थलहरुमा किशोरीमैत्री वातावरण नहुँदा विभिन्न समस्या भोग्नु परेको भन्दै किशोरीहरुले आवाज उठाउन सुरु गरेका हुन् । अझैपनि कतिपय विद्यालयमा छात्र–छात्रा शौचालय र प्याड चेन्जिङ रुम समेत नहुँदा छात्राहरुले ठूलो कठिनाई भोग्नु परिरहेको भन्दै हरेक विद्यालयमा किशोरीमैत्री वतावरण अनिवार्य हुनुपर्ने निकेश्वरी किशोरी समूहकी अर्चना चौधरीले बताउनुभयो । अझै पनि कतिपय विद्यालयमा छात्र–छात्राका लागि एउटै शौचालय भएको बताउँदै छात्रा शौचलाय भएपनि सरसफाईका लागि पानीको व्यवस्था नहुँदा समस्या भोग्नु परेको उहाँले बताउनुभयो ।

‘साथीले पेट दुःख्यो भनिन् । के भएको हो भनेर सोधे अनि उनले मिन्स भयो घरम जाम भनिन् । अनि हामीहरु गएर सर, हामी घर जान्छम काम छ भन्यौ । सरले किन जाने हुँदैन कक्षा कोठामा गएर बस भन्नुभयो,’ निकेश्वरी किशोरी समूहकी अर्चना चौधरीले भन्नुभयो –‘त्यसपछि मिससंग गएर भन्यौ । उहाँले प्याड लिएर लगाउ भन्नुभयो । तर प्याड लिएर लगाउने ठाउँ नै थिएन । सौंच गर्ने ठाउँमा केटाहरु मात्रै भरिका थिए । यस्तो समस्या कतिले भोग्छन् होला ?’ प्याड चेन्ज वा लगाउनका लागि छुट्टै कोठाको व्यवस्था र विशेषगरी किशोरीको समस्या बुझ्ने खालको मिस वा मेडम हुनुपर्ने उनिहरु बताउँछन् । सामुदायिक अस्पताल र मेडिकलहरुमा पनि सकभर महिला डक्टर र किशोरीमैत्री वातावरण आवश्यक रहेको उनिहरुको भनाई छ । प्रजन् स्वास्थ्य सम्बन्धी समस्या लिएर जाँदा सामुदायिक अस्पताल वा मेडिकलहरुमा बाहिर नै मान्छेहरुको अगाडी के भएको छ भनेर सोधपुछ् गर्दा त्यसले झनै पिडामाथि पिडा थप्ने काम भएको उनिहरुको गुनासो छ ।

अस्पतालहरुमा किशोरी मैत्री वातावरण नहुँदा धेरै किशोरीहरु लाजका कारण अस्पतालमा जादैनन् । सकभर सानो दुःखाईलाई सहेर पनि बस्ने र चेकजाँचका लागि अस्पताल नजाँदा पछि गएर रोगले ठूलो रुप लिने गरेको दंगीशरण गाउँपालिका –५ स्थित सगरमाथा किशोरी समुहकी अस्मिता चौधरी बताउनु हुन्छ । ‘अस्पताल गयो । बाहिर नै के भएको छ । भनेर स्वास्थ्यकर्मीले सोधपुछ गर्छन् । कम्तिमा सुरक्षीत साथ चेकजाँच गर्ने व्यवस्थीत कोठाको व्यवस्था हुुनुप¥यो नि ,’ चौधरीले भन्नुभयो– ‘ किशोरीलाई के भएको छ भन्ने कुरा डक्टर बाहयक अरुलाई थाहा हुनु भएन । कसैलाई सामान्य कुरा लागेपनि हाम्रो लागि गम्भिर संवेदनशिल कुरा हो । उसको गोपिनियताको कुरा पनि हो । यस तर्फ सबैको ध्यान जान जरुरी छ ।’

हरेक सार्वजनिक स्थलहरुमा सुरक्षीत वातावरण नहुँदा महिला वा किशोरी माथि यौजन्य हिंसाका घटनाहरु हुने गरेको किशोरीहरुको बुझाइ छ । जसका कारण हरेक सार्वजनिक स्थल सुरक्षीत र किशोरीमत्री वातावरण बनाउनका लागि स्थानीय सरकार र यो संग सम्बन्धित सरोकारवाला निकायहरु तदारुकताका साथ लाग्नुपर्ने किशोरी समूहको जोड छ ।

कसरी उठ्नथाल्यो आवाज ? विशेष गरेर ओरेक दाङले पालिकाहरुमा किशोरी समूह गठन गरेर किशोरी तथा महिला हिंसा बिरुद्धमा संगठित गर्न थालेपछि विस्तारै सार्वजनिक स्थलहरुलाई सुरक्षीत गराउनुपर्छ भन्ने आवाज उठ्न थालेको हो । पृतिसत्तात्मक संरचनामा परिवर्तन ल्याउन र आत्म सुरक्षाका लागि समूह गठन गरेर जागरुक गराएपछि स्वतस्फूर्त रुपमा किशोरीहरुले आफ्ना समस्याको पहिचान र आवाज उठाउन थालेको ओरेक दाङकी कार्यक्रम अधिकृत सुष्मा छिनालले बताउनुभयो । महिला तथा किशोरी माथि हुने विभिन्न खालका हिंसाका बिरुद्ध पैरबी गर्दै आएको ओरेकले तुलसीपुर, दंगीशरण र शान्तिनगरमा गरेर ९ वटा किशोरी समूह गठन गरेर सशक्तीकरण गरिरहेको छ ।

प्रकाशित मिति : २०७८ चैत्र २० गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।