तुलसीपुर, १२ जेठ । तुलसीपुर उद्योग बाणिज्य संघको समन्वयमा युएसए आइडी, तयार नेपालले तुलसीपुर कोरोना आइसोलेसन अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । बुधबार तुलसीपुर उपमहानगरपालिका–८ अस्वारा स्थित अस्पतालमै पुगेर सर्जिकल माक्स ३६० प्याकेट, ग्लोब्स १० प्यकेट, सेनिटाइजर २० लिटर, पिपिई ५० थान, थर्मल गन १५ थान र आइसोलेसन बेड २० थान हस्तान्तरण गरिएको हो । कोरोना महामारी नियन्त्रणका लागि प्राप्त स्वास्थ्य सामग्री तुलसीपुर उद्योगबाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेलाई हस्तान्तरण गर्नु भएको हो ।
सो अवसरमा नगर प्रमुख पाण्डेले अमेरिकन जनताको तर्फबाट नेपाली जनताकालागि राहत साहयता सामग्री उपलब्ध गराएकोमा अमेरिकी सरकार र त्यहाँका जनतालाई धन्यावद दिनुभयो । कोरोना प्रति रक्षाका लागि स्वास्थ्य सामग्री फलदायी बन्ने र जुन उद्देश्यका लागि आएका छन त्यही उद्देश्यकालागि प्रयोग गर्ने नगर प्रमुख पाण्डेले बताउनुभयो ।
कोरोना संक्रमित बिरामीको उपचार र जीवन रक्षाकालागि स्वास्थ्य सामग्रीले मद्धत गर्ने बताउँदै तुलसीपुरको पहिचान र समृद्धिकालागि स्थापनाकालदेखिनै तुलसीपुर उद्योग बाणिज्य संघ र तुलसीपुर उपमहानगरपालिकाले महत्वपूर्ण भूमिका खेल्दै आएको नगर प्रमुख पाण्डेले बताउनुभयो ।
जनप्रतिनिधि नहुँदा पनि बाणिज्य संघले तुलसीपुरको विकासका लागि काम गर्दै आएको बताउँदै विगतदेखि अहिलेसम्म दुवै संस्थाको सम्बन्ध नङ र मासुको जस्तो भएकाले यसलाई अनन्तकालसम्म जोगाई राख्नु पर्ने बताउनुभयो ।





