२०८३ भाद्र १० गते बुधवार

मालपोत कार्यालय तुलसीपुरका प्रमुख खड्का सहित चार जना विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता

दाङ, २ पुष । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तुलसीपुर मालपोत कार्यालयका प्रमुख सहित चार जना विरुद्ध विशेष अदालत काठमाडौमा आरोपपत्र दायर गरेको छ ।

आयोगका प्रवक्ता तारानाथ अधिकारीले दिएको जानकारी अनुसार मालपोत कार्यालय, तुलसीपुर दाङका कार्यालय प्रमुख मालपोत अधिकृत नरेश कुमार खड्कासहित ४ जना उपर जनही बिगो ३ लाख २० हजार घुस लिई भ्रष्टाचार गरेको सम्बन्धी विशेष अदालत काठमाडौमा बिहीबार आरोपपत्र दायर गरीएको छ ।

मालपोत कार्यालय तुलसीपुरका नासु पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरेले सेवाग्राहीले सुकुम्बासीको हैसियतले प्राप्त गरेको जग्गाको श्रेस्ता कायम गरी जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराई दिने प्रयोजनको लागि घुस मागेको भन्ने गोप्य सुचनाको आधारमा गएको मंसीर ५ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय, नेपालगञ्जको टोलीले गिरी र गैरेलाई सेवाग्राहीबाट ३ लाख २० हजार घुस रकम सहित कार्यालयबाटै पक्राउ गरेको थियो ।

त्यसपछि आयोगद्धारा अनुसन्धानको क्रममा कार्यालय प्रमुख, मुद्दा फाँटका नासु केशवराज अधिकारी, मोठफाँटका नासु पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरेको मिलेमतो भएको पाईएपछि आरोपपत्र दायर भएको प्रवक्ता अधिकारीले जानकारी दिएका छन् ।प्रमाणपूर्जा उपलब्ध गराउने काम अगाढी बढेकोमा अन्त्यमा गरिने स्थलगत सर्जमिन गर्ने काम अड्काई सेवाग्राहीको नियमानुसार निशुल्क गर्नुपर्ने कामको लागि दुःख तथा हैरानी दिएको अनुसन्धानबाट खुलेको आयोगले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित मिति : २०७७ पुष २ गते बिहिवार
प्रतिक्रिया