काठमाडौ, २ बैशाख ।विद्यालयभन्दा बाहिर रहेका विद्यार्थीलाई पठनपाठनमा अभिप्रेरित गर्ने उद्देश्यले सरकारले सोमवार देखि मुलुकभर विद्यार्थी भर्ना अभियान सुरु गरेको छ । अभियानको नारा ‘हाम्रो सहर, हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पु¥याऊँ’ तय गरिएको छ ।
केन्द्रीय नारामा स्थानीय सरकारले आफ्नो परिवेशअनुसार थपघट गर्न सक्ने छन् । १५ वर्षदेखि मुलुकमा विद्यार्थी भर्ना अभियान जारी छ । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको विद्यालय भर्ना अभियानका लागि स्थानीय र प्रदेश सरकारसँग समन्वय गर्दै विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय पु¥याउनका लागि अपिल गरेको छ ।
शिक्षा सचिव खगराज बरालले सीआईएनसँग कुराकानी गर्दै विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय भर्ना मात्रै होइन उनीहरूलाई टिकाइ राख्नका लागि पनि सरकारले विषेश योजना ल्याएको बताउनुभयो ।शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहप्रवक्ता विष्णुप्रसाद मिश्रका अनुसार भर्ना अभियानका निम्ति मानव विकास सूचकाङ्कमा पछाडि रहेका १५ जिल्लालाई २० लाख रुपैयाँका दरले रकम दिइनेछ । अन्य जिल्लालाई भने ५० हजार रुपैयाँका दरले बजेट विनियोजन गरिएको छ । मन्त्रालयले सबै स्थानीय तहलाई विद्यालय भर्ना अभियानलाई सफल गराउन निर्देशन दिएको छ ।
मन्त्रालयको सचिवस्तरीय बैठकले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई विद्यालय जाने उमेर समूहका सबै बालबालिकालाई विद्यालयमा भर्ना गराई ‘विद्यालय भर्ना अभियान’ लाई सफल पार्न निर्देशन दिएको छ । मन्त्रालयले वैशाख १५ गतेसम्म हरेक स्थानीय तहले विद्यालय र समुदाय केन्द्रीत विभिन्न कार्यक्रम गर्न र १५ गतेपछि वैशाख मसान्तसम्म लक्षित समूह केन्द्रीय विशेष घरदैलो अभियान सञ्चालन गर्न निर्देशन दिएको शिक्षा मन्त्रालयका उपसचिव विदुरराज गिरीले जानकारी दिनुभयो ।
टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।