२०८३ मङ्सिर १३ गते आइतवार

गुगल र भूगोलको वास्तविकता मिलाएर मात्रै देश बन्दैन : खेमराज वली

तुलसीपुर, १२ मंसिर । राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता महासंघका अध्यक्ष खेमराज ओलीले गुगल र भूगोलको वास्तविकता मिलाएर मात्रै देश नबने बताउनु भएको छ । जनताको आवश्यकता, समस्या र वास्तविक अवस्थालाई बुझेर मात्रै देशको विकास गर्न सकिने उहाँले बताउनुभयो । भालुबाङ खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको ३०औँ वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशनमा प्रमुख अतिथिका रूपमा बोल्दै ओलीले खानेपानी नागरिकको मौलिक अधिकारसँग जोडिएको विषय भएकाले सरकारले यसप्रति गम्भीर हुनुपर्ने बताउनुभयो ।

उहाँले स्वास्थ्य, शिक्षा र सडकजस्ता क्षेत्रमा नागरिकको प्रत्यक्ष लगानी अनिवार्य नगरिने भए पनि खानेपानी क्षेत्रमा भने उपभोक्ताले २० देखि ३० प्रतिशतसम्म लगानी गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्नुभयो । उपभोक्ता संस्थाहरूले आफ्नै पहल, लगानी र मेहनतबाट खानेपानी आयोजना निर्माण तथा सञ्चालन गर्दै आएको उल्लेख गर्दै ओलीले संस्थाका कर्मचारीसमेत उपभोक्ताकै लगानीबाट पालिँदै आएको बताउनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि राप्ती गाउँपालिकाका कार्यवाहक अध्यक्ष कमलपति चौधरीले विगतका राजनीतिक दलहरूले केही गरेनन् भनेर मात्र टिप्पणी गर्नु उचित नहुने बताउनुभयो । विगतमा भएका काम र उपलब्धिकै आधारमा नयाँ दल तथा नेतृत्वले अवसर पाएको उहाँको भनाइ थियो । त्यस्तै, राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता महासंघका जिल्ला अध्यक्ष तथा घोराही खानेपानी उपभोक्ता संस्थाक ा अध्यक्ष ध्रुव केसीले उपभोक्ताको मेहनत, लगानी र सक्रियताबाट निर्माण भएका संस्थाहरूलाई सरकारले उचित नीति तथा कार्यक्रममार्फत संरक्षण र प्रवद्र्धन गर्न नसक्नु दुर्भाग्यपूर्ण भएको बताउनुभयो ।

कार्यक्रममा वक्ताहरूले खानेपानी उपभोक्ता संस्थाको संस्थागत विकास, पारदर्शिता, सुशासन र दिगो व्यवस्थापनका लागि सरकार तथा उपभोक्ताबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए । भालुबाङ खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष हस्तबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका सचिव गोपाल चन्दले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको संचालन कोषाध्यक्ष चन्द्रप्रकाश आचार्यले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८३ मङ्सिर १२ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।