दाङ, मंसिर ८ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) डा. हेमबहादुर केसीले पत्रकारिता क्षेत्रलाई लक्षित गरी दिएको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघ दाङ शाखाले गम्भीर आपत्ति जनाएको छ ।
मंसिर ८ गते घोराहीमा आयोजित एक कार्यक्रममा डीएसपी केसीले कुनै कानुनी प्रक्रिया, उजुरी वा मुद्दा नै नपरेको अवस्थामा बिना प्रमाण मनोगत ढंगले कसैलाई अपराधी करार गर्ने र निश्चित व्यक्तिमाथि नभई सिंगो पत्रकारिता जगतलाई आरोपित गर्ने गरी अभिव्यक्ति दिएको भन्दै महासंघले आपत्ति जनाएको हो ।
महासंघका सचिव जेएन सागरद्वारा जारी विज्ञप्तिमा कानुन कार्यान्वयनको जिम्मेवारी सम्हालेका प्रहरी अधिकारीबाटै पत्रकारलाई लान्छित गर्ने गरी सार्वजनिक अभिव्यक्ति आउनु दुःखद र खेदजनक भएको उल्लेख गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी केसीमाथि छानबिन
सार्वजनिक मञ्चबाट समग्र पत्रकारिता क्षेत्रको हुर्मत लिने र आम नागरिकमाझ पत्रकारिता पेसाप्रति अविश्वास पैदा गर्ने किसिमको गैरजिम्मेवार अभिव्यक्ति आएको भन्दै महासंघले सम्बन्धित प्रहरी अधिकारीलाई सार्वजनिक रूपमा आफ्नो अभिव्यक्ति सच्याउन आग्रह गरेको छ । समयमै अभिव्यक्ति नसच्याई माफी नमागे थप कदम चाल्न बाध्य हुने महासंघले चेतावनी दिएको छ ।
महासंघले प्रहरी संगठनको प्रतिष्ठा जोगाउन, पीडित नागरिकलाई न्याय दिलाउन तथा कानुन कार्यान्वयनको दायित्वभित्र रहेर चालिने हरेक कदममा सहयोग गर्न आफू प्रतिबद्ध रहेको स्पष्ट पारेको छ । कुनै पत्रकारबाट कानुनविपरीत कार्य भएको पाइएमा प्रमाणका आधारमा कानुनी प्रक्रिया अघि बढाउन आवश्यक सहयोग गर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।
बिना आधार र प्रमाण सिंगो पत्रकारिता पेसालाई नै आँच पुग्ने गरी दिइएको अभिव्यक्तिप्रति पुनः गम्भीर खेद प्रकट गर्दै महासंघले सम्बन्धित प्रहरी अधिकारीसँग तत्काल आत्मालोचनासहित अभिव्यक्ति सच्याउन जोडदार माग गरेको छ ।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।