बझाङ,३० कात्तिक । बझाङको बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। टुमेडा गाउँबाट वडा नं. ११ स्थित हिड्नेगडा बजारतर्फ जाँदै गरेको अटो ब्रेक फेल भई सडकबाट करिब ९०० मिटर तल भिरमा खस्दा आज बिहान करिब १०ः२० बजे सुदूरपश्चिम प्रदेश ०१–००१ ह ७९९८ नम्बरको अटो दुर्घटनामा परेको थियो। अटोमा चालकसहित ६ जना सवार रहेको खुलेको छ। दुर्घटनामा परी बुङ्गल नगरपालिका–१० निवासी अन्दाजी ३५/४० वर्षीया राजमति महरा, १५/१६ वर्षीया तारा महरा, ५/६ वर्षीया डल्ली महरा र ४ वर्षीया रियास महराको मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यस्तै, अटोमा सवार अन्दाजी १२/१३ वर्षीय विक्रम महरा सकुशल घरतर्फ गएको बुझिएको छ। दुर्घटनामा परेको अटो घटनास्थलमै रहेको छ। घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट पुतलीलेक, इलाका प्रहरी कार्यालय बुङ्गल र जिल्ला प्रहरी कार्यालय बझाङबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। दुर्घटनापछि अटो चालक बुङ्गल नगरपालिका–११ निवासी २५ वर्षीय टेकबहादुर पातलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।