२०८३ कार्तिक २१ गते शनिवार

लुम्बिनीमा २७९ मेट्रिक टन फूल उत्पादन

दाङ,२१ कात्तिक । तिहारलाई लक्षित गरी यस वर्ष लुम्बिनी प्रदेशमा २७९ मेट्रिक टन फूल उत्पादन हुने भएको छ । प्रदेशका १२ वटै जिल्लामा ५९ हेक्टर क्षेत्रफलमा सयपत्री, मखमलीलगायत फूलखेती गरिएको छ । लुम्बिनी प्रदेश कृषि निर्देशनालयका अनुसार यस वर्ष उत्पादित फूलबाट करिब ७ करोड ५६ लाख रुपैयाँको कारोबार हुने अनुमान गरिएको छ । निर्देशनालयका कृषि प्रसार अधिकृत नवीन गैरेले प्रदेशमा व्यावसायिक फूलखेती विस्तार हुँदै गएकाले उत्पादनसँगै कारोबार पनि बढ्ने अपेक्षा गरिएको बताउनुभयो।

यस वर्ष प्रदेशमा २५९ मेट्रिक टन सयपत्री फूल उत्पादन हुने अनुमान छ । सयपत्री फूलबाट मात्रै ६ करोड ९४ लाख ५३ हजार ५०० रुपैयाँ बराबरको कारोबार हुने प्रक्षेपण गरिएको छ । यस्तै, १८ दशमलव ५ मेट्रिक टन मखमली फूल उत्पादन हुने र त्यसबाट करिब ६० लाख ५० हजार रुपैयाँको कारोबार हुने अनुमान छ । कट फ्लावरअन्तर्गत गुलाबको उत्पादन पनि केही मात्रामा हुने गरेको छ ।

स्थानीय उत्पादन प्रदेशभित्रै खपत हुनुका साथै केही फूल अन्य जिल्लामा समेत पठाउने गरिएको उहाँको भनाइ छ । पछिल्लो समय प्रदेशका विभिन्न जिल्लामा व्यावसायिक फूलखेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । यसले गर्दा विगतको तुलनामा बाहिरबाट फूल आयात गर्नुपर्ने अवस्था निकै कम हुँदै गएको कृषि निर्देशनालयको दाबी छ । स्थानीयस्तरमै फूल उत्पादन बढ्न थालेपछि तिहारमा फूलको माग धान्न सहज हुनुका साथै किसानको आम्दानीसमेत बढ्ने अपेक्षा गरिएको छ ।।

प्रकाशित मिति : २०८३ कार्तिक २१ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।