तुलसीपुर, २१ कात्तिक । सल्यानमा भएका छ्ट्टा छुट्टै घटनामा पनि दुई बालक सहित छ जना घाईते भएका छन् । जिल्लाको घुईयाबारीमा घरबाट खेल्न निस्किएका दुई जना बालकको पानीमा डुबेर ज्यान गएको छ । कालिमाटी गाउँपालिका, ७ घुइयाबारीमा शुक्रबार साझ दुई बालक मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । मृत्यु हुनेमा स्थानीय वीरेन्द्रकुमार बीसीका छोरा आठ बर्षिय डेविट बि सी र शशी बुढाका छोरा ८ बर्षिय अंकित बुढा रहेका छन् ।
प्रहरी निरीक्षक इश्वर रोकायका अनुसार हिजो बेलुका ५ः३० बजे घरबाट खेल्न निस्किएका उनीहरू अबेरसम्म घर नफर्किएपछि आफन्त, स्थानीय र प्रहरी मिलेर खोजी गर्ने क्रममा साँझ करिब ७ बजे घुइयाबारी स्थित बबई नदीको छेउमा रहेको सानो नालामा पानीमा डुबेको अवस्थामा दुवै बालक फेला परेको प्रहरीले बताएको छ ।
दुई मोटरसाइकल ठोक्किँदा चार जना घाइते
यस्तै सल्यानमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा चार जना घाइते भएका छन् । घाइतेमध्ये दुवै मोटरसाइकलका चालकको अवस्था गम्भीर रहेको छ । घाईते हुनेमा जिल्लाको शारदा नगरपालिका, २ भिकुल्लामा भएको दुर्घटनामा शारदा नगरपालिका, ७ निवासी २५ वर्षीय प्रकाश गिरी, शारदा नगरपालिका, १४ निवासी २५ वर्षीय विनोद रावत, चालक सिद्धकुमाख गाउँपालिका, २ निवासी २२ वर्षीय गोपाल बुढाथोकी र मोटरसाइकलमा सवार सिद्धकुमाख गाउँपालिका, १ निवासी १८ वर्षीय प्रदीप चलाउने रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक इश्वर रोकायले जानकारी दिए । हिजो बेलुका पौने पाँच बजेतिर राप्ती राजमार्ग अन्तर्गत श्रीनगरबाट बरलातर्फ जाँदै गरेको रा २ प ९३२६ नम्बरको पल्सर मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको रा ३ प ६४३१ नम्बरको पल्सर मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
टेक्टर दुर्घटना हुँदा दुई जना घाईते
यस्तै बागचौर नगरपालिका २ माथिल्लो चिल्ढालेमा टेक्टर दुर्घटना हुँदा दुई जना घाईते भएका छन् । खैरीबोट बजार देखि चिल्ढाले तर्फ जादै गरेको लु.प्र.०२००१त ०१५५ नम्वरको ट्याक्टर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । घाईते हुनेमा ट्याक्टर चालक बागचौर नगरपालिका, २ खैरीबोट निवासी २७ वर्षीय लक्ष्मण डाँगी र ट्याक्टरमा सवार सोही ठाउँका ३२ वर्षीय प्रकाश बुढाथोकी रहेको प्रहरीले जनाएको छ । दुवै घाइतेलाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक ईश्वर रोकायले जानकारी दिनुभयो ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।