काठमाडौं १३ कात्तिक । नेपाली कांग्रेसले १५औं महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गराउन निर्वाचन आयोग जाने तयारी थालेको छ।
महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ ग्रहण सम्पन्न भएसँगै पार्टीले नयाँ कार्यसमितिको विवरण आयोगमा अद्यावधिक गराउने प्रक्रिया अघि बढाएको हो। कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आवश्यक कागजात संकलन तथा कानुनी प्रक्रिया पूरा गर्ने काम भइरहेको जानकारी दिए।
‘अहिले हामी तयारीमै छौं । सबै कागजात र आवश्यक प्रक्रिया पूरा गर्ने काम भइरहेको छ,’ उनले अनलाइनखबरसँग भने, ‘तयारी सम्पन्न भएपछि आयोग जान्छौं । आयोग जाने निश्चित मिति भने कांग्रेसले सार्वजनिक गरेको छैन। यद्यपि, कार्यवाहक मुख्यसचिव दुलालले सोमबारभित्रै विवरण अद्यावधिकका लागि आयोग पुग्ने तयारी भइरहेको संकेत गरेका छन्।
‘आज–भोलिमध्ये आयोग जाने तयारी छ,’ उनले भने, ‘सोमबारभित्र हामी आयोग जान्छौं । दुलालले नयाँ केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गर्ने विषयलाई पार्टीको नियमित प्रशासनिक प्रक्रियाका रूपमा व्याख्या गरेका छन्। विधान र प्रचलित कानुनअनुसार आवश्यक प्रक्रिया पूरा गरेर अघि बढ्ने उनको भनाइ छ। आयोगमा जाने विषयलाई त्यति ठूलो कुरा बनाउनुपर्ने होइन । यो सामान्य प्रक्रिया हो,’ दुलालले भने, ‘विधान र कानुनअनुसार गर्नुपर्ने काम भएकाले हामी त्यसैअनुसार अघि बढ्छौं ।
यसअघि बिहीबार नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण समारोहपछि बसेको केन्द्रीय कार्यसमिति बैठकले आयोगमा विवरण अद्यावधिक गराउने जिम्मेवारी कार्यवाहक मुख्यसचिव दुलाललाई दिएको थियो।सोही निर्णयअनुसार कांग्रेसले अहिले आवश्यक कागजात र प्रक्रिया मिलाउने काम गरिरहेको छ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।