२०८३ असोज २४ गते शनिवार

दाङ टेक्निकल इन्स्टिच्युटको स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न, स्वदेशमै सम्भावना खोज्न आग्रह

तुलसीपुर, २४ असोज। दाङ टेक्निकल इन्स्टिच्युट प्रालिले नयाँ विद्यार्थीलाई स्वागत तथा अध्ययन पूरा गरेका विद्यार्थीलाई बिदाइ गरेको छ। शनिबार तुलसीपुरमा आयोजित कार्यक्रममा विद्यार्थीलाई सीप, ज्ञान र दक्षतामार्फत आत्मनिर्भर बन्दै स्वदेशमै अवसरको खोजी गर्न आग्रह गरिएको छ।

इन्स्टिच्युटले सामान्य चिकित्सा (एचए) प्रथम वर्षमा भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको हो भने तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीलाई बिदाइ गरेको हो। कार्यक्रममा वक्ताहरूले प्राविधिक शिक्षालाई व्यवहारमा उतार्दै दक्ष जनशक्तिका रूपमा स्थापित हुनुपर्नेमा जोड दिएका थिए।

इन्स्टिच्युटका अध्यक्ष दोर्ण वलीको अध्यक्षता तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी), लुम्बिनी प्रदेशका उपनिर्देशक यादव सुवेदीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथि सुवेदीले सीपयुक्त शिक्षाले व्यक्तिलाई आत्मनिर्भर बनाउनुका साथै रोजगारी र उद्यमशीलताका अवसर सिर्जना गर्ने बताउनुभयो। उहाँले विदेश जाने मोहमा मात्रै केन्द्रित नभई स्वदेशमै रहेका सम्भावना पहिचान गर्न र आफ्नो सीप तथा दक्षताको सदुपयोग गर्न विद्यार्थीलाई आग्रह गर्नुभयो।

तुलसीपुर सिटी हस्पिटल प्रालिका अध्यक्ष बिमल रिजालले सही र गलत छुट्याउन सक्ने विवेकको विकास गर्दै समय र परिस्थितिअनुसार आफूलाई परिवर्तन गर्नुपर्ने बताउनुभयो। उहाँले बदलिँदो परिवेशअनुसार ज्ञान, सोच र व्यवहारलाई परिष्कृत गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो। त्यसैगरी, राप्ती लाइफ केयर अस्पताल तुलसीपुरका अध्यक्ष हरिप्रसाद रिजालले स्वास्थ्य क्षेत्र संवेदनशील र जिम्मेवारीपूर्ण भएकाले यस क्षेत्रमा काम गर्ने जनशक्ति अनुशासित, इमानदार र उत्तरदायी हुनुपर्ने बताउनुभयो। उहाँले परिवारबाट प्राप्त संस्कारलाई व्यवहारमा उतार्दै समयको महत्त्व बुझेर काम गर्न विद्यार्थीलाई सुझाव दिनुभयो।

तुलसीपुर सिटी हस्पिटलका प्रबन्ध निर्देशक हेमराज बस्नेतले स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्तिको आवश्यकता रहेको उल्लेख गर्दै विद्यार्थीलाई अध्ययनसँगै व्यावहारिक सीप र ज्ञान हासिल गर्न आग्रह गर्नुभयो। उहाँले दक्ष स्वास्थ्यकर्मी बन्न निरन्तर सिकाइ, अनुशासन र सेवाभाव आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा इन्स्टिच्युटमा तेस्रो वर्षमा अध्ययनरत छात्रा चेतना वलीले आफ्नो शैक्षिक अनुभव सुनाउँदै इन्स्टिच्युटको शैक्षिक वातावरण र सिकाइ प्रक्रियाको प्रशंसा गर्नुभयो।

कार्यक्रमलाई सांस्कृतिक प्रस्तुतिले थप आकर्षक बनाएको थियो। विद्यार्थीहरूले विभिन्न गीत, साहित्यिक रचना तथा विविध भेषभूषा र संस्कृतिको झल्को दिने नृत्य प्रस्तुत गरेका थिए। ती प्रस्तुतिले कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउनुका साथै विद्यार्थीको प्रतिभा र सांस्कृतिक विविधतालाई उजागर गरेका थिए।

कार्यक्रममा दुई जनालाई  पुरस्कारसमेत प्रदान गरिएको थियो। एच ए सीता डागीलाई एक लाख २१ हजार दुई सय रुपैयाँ र ल्याब टेक्निसियन सृजना कुमारी चौधरीलाई २लाख ३८ हजार दुई सय रुपैयाँको चेक हस्तान्तरण गरिएको थियो।

कार्यक्रमको सहजीकरण इन्स्टिच्युटका प्रधानाध्यापक अशोककुमार यादव र सामान्य चिकित्सा दोस्रो वर्षमा अध्ययनरत छात्रा विधिका वलीले गर्नुभएको थियो।स्वागत तथा बिदाइ कार्यक्रमले विद्यार्थीबीच आपसी सद्भाव बढाउनुका साथै प्राविधिक शिक्षा, सीप विकास र जिम्मेवार स्वास्थ्य जनशक्ति निर्माणको महत्त्वलाई उजागर गरेको छ।

प्रकाशित मिति : २०८३ असोज २४ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।