२०८३ साउन १८ गते सोमवार

तुलसीपुरमा राप्ती ग्यासका २३ सय सिलिन्डर वितरण, उत्पादन क्षमता दैनिक ५ हजार पुर्‍याउने तयारी

दाङ, तुलसीपुर। देशभर खाना पकाउने एलपी ग्यासको अभावका कारण उपभोक्ताहरू घण्टौं लाइनमा बस्न बाध्य भइरहेका बेला दाङस्थित राप्ती ग्यास उद्योगले उत्पादन क्षमता बढाउँदै बजारमा ग्यास आपूर्ति विस्तार गरेको जनाएको छ।

उद्योगका सञ्चालक रामबहादुर खड्काका अनुसार केही दिनअघिसम्म दैनिक करिब २ हजार सिलिन्डर उत्पादन हुँदै आएकोमा हाल उत्पादन बढाएर दैनिक ३ हजार सिलिन्डर पुर्‍याइएको छ। आगामी १० दिनभित्र उत्पादन क्षमता दैनिक ५ हजार सिलिन्डरसम्म विस्तार गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो।

उद्योगका अनुसार शनिबार र आइतबार गरी दुई दिनमा तुलसीपुर क्षेत्रमा २ हजार ८ सय  ६० सिलिन्डर ग्यास वितरण गरिएको छ। त्यसमध्ये आइतबार मात्रै २ हजार ३ सय  सिलिन्डर विभिन्न डिलरमार्फत बजारमा पठाइएको सञ्चालक खड्काले बताउनुभयो।

राप्ती ग्यास उद्योगले दाङसँगै बाँके, बर्दिया, कैलाली, सुर्खेत, दैलेख, रोल्पा र रुकुमलगायत जिल्लामा पनि ग्यास आपूर्ति गर्दै आएको छ। पछिल्लो समय बजारमा देखिएको अभावलाई ध्यानमा राख्दै दाङलाई प्राथमिकतामा राखेर वितरण भइरहेको उद्योगको भनाइ छ।

आवश्यकता भन्दा बढी ग्यास भण्डारण नगर्न आग्रह

उद्योगले उपभोक्तालाई आवश्यकता भन्दा बढी ग्यास घरमा भण्डारण नगर्न आग्रह गरेको छ। दैनिक उत्पादन र आपूर्ति नियमित भइरहेकाले कृत्रिम अभाव सिर्जना हुने गरी अतिरिक्त सिलिन्डर घरमा नराख्न अनुरोध गरिएको हो।

“आवश्यकता भन्दा बढी ग्यास घरमा भण्डारण गर्दा बजारमा अभाव देखिएको छ। सकेसम्म एक घरमा एक सिलिन्डर मात्रै राख्नुस्। अहिले उत्पादन क्षमता पनि बढाइएको छ, त्यसैले ग्यासको अभाव हुँदैन,“ सञ्चालक खड्काले भन्नुभयो।

यता नेपाल एलपी ग्यास विक्रेता महासंघका केन्द्रीय उपाध्यक्ष लालबहादुर केसीले उद्योगबाट ग्यास आइरहे पनि उपभोक्ताको अत्यधिक मागका कारण समयमै वितरण गर्न कठिनाइ भइरहेको बताउनुभयो।

“धेरै उपभोक्ताले १०–१५ दिनअघि नै खाली सिलिन्डर डिपोमा बुझाएर ग्यासको प्रतीक्षामा हुनुहुन्छ। आपूर्ति बढे पनि सबैलाई तत्काल उपलब्ध गराउन सकिएको छैन। बजारलाई सहज बनाउन सम्बन्धित सबै निकायको समन्वय र भूमिका आवश्यक छ,“ उहाँले भन्नुभयो। दाङमा मनकामना र भेरीको ग्यास आउने गरेपनि अहिले आपूर्ति बन्द जस्तै भएको छ ।

प्रकाशित मिति : २०८३ साउन १७ गते आइतवार
प्रतिक्रिया