तुलसीपुर,२४ जेष्ठ । विश्व खाद्य स्वच्छता दिवसको अवसरमा तुलसीपुरमा जनचेतनामुलक प्रभातफेरी सहित कार्यक्रम गरिएको छ । तुलसीपुर उपमहानगरपलिकाको आयोजनामा भएको कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुर, नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुर, ताजा चाउमिन तथा सस व्यवसायी महासंघ नेपाल, तुलसीपुर होटेल व्यवसायी समिति लगाएत विभिन्न सरोकारवाला निकाय, जनप्रतिनिधि, प्रहरी, प्रशासन, विद्यार्थी लगाएतको सहभागिता रहेको थियो भने सहभागीहरुले विभिन्न शन्देसमुलक प्ले कार्ड सहित बजार परिक्रमा गरेका थिए ।

खाद्य पदार्थमा स्च्छता, हामी सबैको प्रतिबद्धता, स्वच्छ खाऔं, स्वस्थ रहौं, खाद्य पदार्थमा स्वच्छता, विज्ञानको अपरिहार्यता लगाएतका शन्देसमुलक प्लेकार्ड सहित तुलसीपुर बजार परिक्रमा गरी तुलसीपुर उपमहानगरपालिकाको प्रांगणमा पुगेर कार्यक्रमको समापन गरिएको थियो । तुलसीपुर मेट्रो कलेजका विद्यार्थी, तुलसीपुर होटेल व्यवसायी समितिका अध्यक्ष इन्द्र बस्नेत, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसी, वडा नं.५ का वडा सदस्य भिम केसी लगाएतले कार्यक्रममा बोल्दै तुलसीपुरमा क्रमिक रुपमा खाद्य स्वच्छतामा सुधार हुँदै गएको भएपनि अझै सुधार गर्न आवश्यक रहेकाले उपभोक्ता देखि व्यवसायीले ध्यान दिन आवश्यक रहेको बताएका थिए् । यस्तै विभिन्न सरोकारवाला निकायहरुले स्वस्थ र स्वच्छ खानपान सहित व्यवहारमा परिवर्तन आवश्यक रहेको भन्दै हरेक क्षेत्रले आ–आफनो तर्फबाट खाद्य स्वच्छताको सुधार प्रति ध्यान दिने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।
यस्तै खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका प्रमुख पदम बरालले विश्व खाद्य स्वच्छता दिवस सप्ताहव्यापी रुपमा मनाईरहँदा पहिलेको तुलनामा बजार केहि सुधार हुँदै गएको बताउनुभयो । तर एक पटक गल्ती गरेर सचेत गराईएका व्यवसायीले पुनःउही गल्ती दोर्हयाउँदा र उपभोक्ता पनि आफनो स्वास्थ्यप्रति सजग नबन्दा समस्या आउने गरेको बताउनुभयो । यस्तै तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख राजु श्रेष्ठले हामी सबैले आफनो घरको भान्सा सुधार गरेपछि ८० प्रतिशत खाद्य स्वच्छतामा सुधार ल्याउन सहयोग पुग्ने भएकाले उपभोक्ता र व्यवसायी स्वास्थ्यप्रति गम्भिर बन्न आवश्यक रहेको बताउनुभयो । यस वर्षको विश्व खाद्य स्वच्छता दिवसको नारा “सवैतिर स्वच्छ खानपान, खाद्यजन्य समस्याको समाधान” रहेको थियो । कार्यक्रमको सञ्चालन महिला, बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले गर्नुभएको थियो ।







