२०८३ बैशाख ८ गते मङ्गलवार

सल्यानमा आगलागी हुँदा ४ घरगोठ जलेर नष्ट

दाङ, ८ वैशाख । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१०, खानिगाउँमा सोमबार दिउँसो आगलागी हुँदा ३ वटा घर र १ गोठ पूर्ण रूपमा जलेर नष्ट भएका छन् । स्थानीय तेजबहादुर पुन (६५) को गोठमा एक्कासी सुरु भएको आगो फैलिँदै जाँदा नजिकै रहेका थमन घर्तीको २ तले, जीवन पुनको २ तले र खुमबहादुर पुनको ३ तले खरले छाएका कच्ची घरहरू पूर्ण रूपमा जलेर नष्ट भएका हुन् ।

घटनाबारे स्थानीय बिमलराज डाँगीले प्रहरीलाई दिउँसो १४ः०० बजे टेलिफोनमार्फत जानकारी गराएपछि अस्थाइ प्रहरीपोष्ट बाबियाचौरबाट प्रहरी हवल्दार चुकबहादुर रावलको कमाण्डमा ४ जनाको टोली खटिएको थियो । प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा करिब ४ः१५ बजेतिर आगलागी पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो । यस घटनामा कुनै मानवीय तथा चौपाया क्षति भने भएको छैन । आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ बैशाख ८ गते मङ्गलवार
प्रतिक्रिया