तुलसीपुर, १ कार्तिक । सल्यानका युवक दाङमा मृत अवस्थामा फेला परेपछि एक युवतीका विरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता भएको छ । शान्तिनगर गाउँपालिका –२ निवासी सम्झना बिकका विरुद्धमा मृतकका आफन्तले इलाका प्रहरी कार्यालय तुलसीपुरमा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरेको प्रहरीले जनाएको छ ।
सल्यानको त्रिवेणी गाउँपालिका –४ फलावाङ निवासी २७ वर्षका रुम बहादुर रावत शनिबार बिहान शान्तिनगर गाउँपालिका– २ पानी टंकीडाँडा नजिकै थमन बिकको बारीमा मृत अवस्थामा भेटिएपछि मृतकका बुवा खिमलाल रावतले प्रहरीमा किटानी जाहेरी दिनुभएको हो । मृतक रुम बहादुर सलले पासो लगाएको अवस्थामा मृत भेटिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक विनोद खत्रीले जानकारी दिनुभयो । प्रहरीले युवतीलाई पक्राउ गरेर हिरासतमा राखेको छ ।
मलेसियामा ३ वर्ष बसेर असोज २९ गते साँझ घरमा पुगेका रुम बहादुर भोलिपल्ट ३० गते बिहान घरबाट निस्किएको र एकैपटक मृत्यु भएको खबर पुगेको बुवा खिमलालले तुलसीपुर खबरलाई बताउनुभयो । “२९ गते राति घर आयो । भोलिपल्ट १२ बजे दाङ गयो । त्यसपछि सम्पर्क बिहिन भयो । एकैपटक यस्तो खबर आयो ।” बुबाले भन्नुभयो ।
मृतक पैसा लिन जाने भन्दै घरबाट निस्किएका थिए । पीडित परिवारले आरोपी युवतीले ३ लाख रुपैयाँ लिएको कागज आफुहरुसंग रहेको बताएको छ । आरोपी युवती विवाहित भएको प्रहरीले बताएको छ । मृतक युवकले शुक्रबार भरत रावत नामको फेसबुक आइडीबाट दिउँसो ३ : ३९ पोष्ट गर्दै मेरो पनि घरमा बुवा, आमा, छोरा दाइ भाइ छन सबै पैसा दिनु, अब माफ गर्न सक्दिनँ भनेर लेखेका छन् ।


















