२०८३ जेष्ठ २५ गते सोमवार

हत्या, तस्करी र भ्रष्टाचारः तुलसीपुर प्रहरीको परीक्षण

तुलसीपुर बजार क्षेत्र विगत केही वर्षयता सुरक्षा चुनौतीको गहिरो संकटमा फसेको छ । यहाँ कुटपीट, हत्या र अवैध गतिविधि सामान्य बनिसकेको छ । युवा संघका नेता बुद्धि केसी र सञ्चार उद्यमी देवीप्रसाद धितालमाथि भएका निर्मम हत्याका घटनाहरूले मात्र होइन,ती हत्याराहरू खुलेआम बजारमा घुमिरहेको तथ्यले पनि नागरिकमा भय र आतंक सिर्जना गरेको छ । केहि हप्ता पहिले मात्रै तुलसीपुरको बेलुवामा टोले गुन्डाबाट ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण भयो । प्रहरीको मोटरसाइकलमा खुँडा प्रहार गरी तोडफोड गरियो । असईको कमाण्डमा रहेका प्रहरी भाग्न बाध्य भए र आफ्नो ज्यान जोगाए । यस्तो घटनाले सुरक्षा संरचना कमजोर भएको र प्रहरीमाथि आम नागरिकको विश्वास गुमेको देखाउँछ ।

तर केवल बाह्य अपराधी मात्र चुनौती होइनन् । तुलसीपुरमा अपराधको बढुवामा पहिल्यै देखि प्रहरी अधिकारीको तस्करीसँगको साँठगाँठको आरोपले ठूलो भूमिका खेलेको छ । गिट्टि, बालुवा, ढुंगा तस्कर र क्रसर उद्योगका माफियासँग प्रहरीको सहकार्यले अवैध व्यापारलाई हौसला दिएको छ । नागरिकहरूले प्रहरीमाथि भरोसा गर्न छोडिसकेका छन् । डिएसपीको आदेशमा सादा पोशाकमा खटिएका प्रहरीहरू सूचना संकलनको सट्टा अबैध धन्दावालसँग सेटिङ मिलाएर पैसा असुल्ने काममा संलग्न हुन्छन् भन्ने नागरिकको आरोप चोकचोकमा सुन्न पाइन्छ ।

भान्सेले डिएसपीको आदेशमा चौकी इन्चार्ज चलाउने गरेको गुनासो पनि उहिल्यैदेखि चर्चित छ । यसले केवल प्रहरीको प्रतिष्ठामा आँच पुर्‍याएको त छ नै,नागरिकमा भय र असुरक्षा बढाएको छ । यस्तो गम्भीर परिस्थितिमा इप्रका तुलसीपुरमा अख्तियारमा कार्यरत डिएसपी होमबहादुर पराजुलीको पोष्टिङ भएको छ । पराजुलीको कानुनी अनुभव र अपराध अनुसन्धानमा रहेको दक्षताले यस बजार क्षेत्रमा सुरक्षा सुधारको आशा जगाउँछ ।

डिएसपीको पहिलो चुनौती भनेको मौलाएको अपराधिक संरचना भत्काउनु हो । यहाँ कुटपीट, हत्या, तस्करी र अवैध सेटिङ व्यापक भइसकेको छ । यसलाई नियन्त्रण गर्न उनले सबैभन्दा पहिला पारदर्शिता र जवाफदेहिता कायम गर्नुपर्छ । प्रहरी प्रशासनमा कुनै पनि अवैध सहकार्य रोक्न प्रभावकारी निगरानी र नियमित अनुगमन आवश्यक छ ।

दोस्रो, समुदायसँग सहकार्य : तुलसीपुरका नागरिक, व्यवसायी र युवा संगठनहरूलाई सुरक्षा संरचनामा साझेदार बनाउनु अपरिहार्य छ । केवल प्रहरी शक्ति मात्रले सुरक्षा चुनौती हटाउन सक्दैन । नागरिकसँगको विश्वास र सक्रिय सहभागिताले हिंसा, डकैती र तस्करी नियन्त्रणमा निर्णायक भूमिका खेल्छ ।

तेस्रो, प्रविधिको उपयोग : तुलसीपुर बजार क्षेत्रमा सुरक्षा व्यवस्थापनमा प्रविधि एक महत्वपूर्ण सहायक हो । सुरक्षा क्यामेरा, डिजिटल रिपोर्टिङ प्रणाली, अपराध डाटाबेस र जि.आइ.एस म्यापिङले डिएसपीलाई अपराध प्रवृत्तिलाई ट्रयाक गर्न र लक्षित नियन्त्रण रणनीति लागू गर्न मद्दत गर्छ । यसले सादा पोशाकमा खटिएका प्रहरीलाई निगरानीमा राख्न पनि सहयोग पुर्‍याउँछ ।

चौथो, कानुनी कठोरता : हत्या, कुटपीट र तस्करीजस्ता गम्भीर अपराधमा डिएसपीले कानुनको सुदृढ पालना सुनिश्चित गर्नुपर्छ । गुन्डाहरू खुलेआम घुम्न नपाउने व्यवस्था गर्नुपर्छ । न्याय प्रक्रिया छिटो र प्रभावकारी हुनु अपरिहार्य छ । अनुसन्धान टोलीलाई पूर्ण स्वायत्तता दिने र अवैध दबाब वा सेटिङको सम्भावना कम गर्ने उपाय अवलम्बन गर्नुपर्छ ।

पाँचौं, अन्तर–प्रशासनिक समन्वय : गिट्टि, बालुवा र ढुंगा तस्कर अनि क्रसर माफीयाको सम्बन्धित अपराध प्रायः जिल्लाभन्दा बाहिरका नेटवर्कसँग जोडिएको हुन्छ । यसलाई तोड्न स्थानीय प्रहरी मात्रै पर्याप्त छैन । जिल्ला प्रशासन सँगै विभिन्न निकायसँगको समन्वयले तस्करी नेटवर्कलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न मद्दत पुर्‍याउँछ ।

साथै, डिएसपीले भनाइ र व्यवहारमा अनुशासन कायम गर्नु आवश्यक छ । सादा पोशाकमा खटिएका प्रहरीहरूलाई नियमित निगरानीमा राख्नु, नियमित रिपोर्टिङ लिनु र भ्रष्टाचारविरुद्ध स्पष्ट सन्देश दिनु डिएसपीको कर्तव्य हो । यसले प्रहरीको छवि मात्र सुधार्दैन,नागरिकको विश्वास पनि पुनःस्थापित गर्छ ।

डिएसपी होमबहादुर पराजुलीको नेतृत्वले तुलसीपुरको सुरक्षा चुनौतीको मोड तय गर्ने अवसर ल्याएको छ । त्यसकालागि केही उपाए यस्ता छन् ।
–बजार क्षेत्रमा अपराध र हिंसालाई पूर्ण नियन्त्रणमा ल्याउने ।
–अवैध तस्करी र माफियासँगको सेटिङ अन्त्य गर्ने ।
–सादा पोशाकमा खटिएका प्रहरीको उत्तरदायित्व सुनिश्चित गर्ने ।
–स्थानीय समुदायसँग निकटता र सहयोगको वातावरण सिर्जना गर्ने ।
–प्रविधि र अनुसन्धानमार्फत अपराध निगरानीलाई व्यवस्थित बनाउने । र,
–कानुनको कडाइ र निष्पक्ष कार्यान्वयन सुनिश्चित गर्ने ।

यदि यी कदमहरू प्रभावकारी रूपमा कार्यान्वयन् भए भने तुलसीपुर बजार क्षेत्र फेरि सुरक्षित, व्यवस्थित र भरोसायोग्य बन्न सक्छ । नागरिकहरूले आफ्नो जीवनमा सुरक्षा महसुस गर्ने, युवा नेता र व्यवसायीहरूले व्यवसाय र सामाजिक गतिविधि निर्वाध रूपमा सञ्चालन गर्न सक्ने वातावरण सिर्जना हुनेछ । सुरक्षा सुधार केवल डिएसपीको सफलता मात्र होइन, सम्पूर्ण प्रशासन, प्रहरी र नागरिकको साझेदारीमा निर्भर हुन्छ ।

प्रत्येक नागरिक, व्यापारी र युवा संगठनले प्रहरीसँग सहकार्य गर्नु जरुरी छ । डिएसपीको नेतृत्व र नागरिकको सक्रिय सहभागिताले तुलसीपुरको बजार क्षेत्रलाई फेरि जीवन्त, सुरक्षित र व्यवस्थित बनाउने सपना वास्तविकता बन्न सक्छ । अन्ततः डिएसपी होमबहादुर पराजुलीको कार्यकाल तुलसीपुरको सुरक्षा व्यवस्थापनमा निर्णायक मोड हो । साहस, स्पष्टता र निष्पक्षताका साथ उहाँले आफ्नो भूमिका निभाएमा यो बजार क्षेत्र पुनः विश्वासिलो, सुरक्षित र समृद्ध बन्न सक्नेछ । नागरिक सुरक्षा, प्रशासनिक जवाफदेहिता र कानुनको पालन यस यात्राको मुख्य आधार हुनेछ ।

प्रकाशित मिति : २०८२ असोज ३१ गते शुक्रवार
प्रतिक्रिया