राष्ट्रपति र प्रधानमन्त्रीको कदम असंवैधानिकः नेपाल पत्रकार महासंघ

काठमाडौं, २८ भदौ। नेपाल पत्रकार महासंघले राष्ट्रपतिद्वारा सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने र प्रतिनिधि सभा विघटन सिफारिस सदर गर्ने कदम संविधान विपरीत भएको भन्दै घोर विरोध जनाएको छ। महासंघका महासचिव रामप्रसाद दाहालले आज जारी विज्ञप्तिमा यसलाई “अलोकतान्त्रिक र असंवैधानिक” ठहर गर्दै निन्दा र भर्त्सना गरेका छन्।

महासंघले जनताले भ्रष्टाचार र बेथितिविरुद्ध जेनजी पुस्ताद्वारा उठाएको आवाज संविधानको दायराभित्रै पूरा हुने अवसर पाएको बताउँदै, राष्ट्रपतिद्वारा गरिएको कदमले जनमतको अपमान भएको जनाएको छ। विज्ञप्तिमा भनिएको छ, “प्रधानमन्त्रीले मध्यरातमा गरेको प्रतिनिधि सभा विघटन सिफारिस सदर गर्नु संवैधानिक र नागरिक सर्वोच्चता विपरीत कदम हो र लोकतन्त्रका लागि अनिष्टको संकेत हो।”

नेपाल पत्रकार महासंघले वर्तमान संविधान र यसबाट प्राप्त उपलब्धि, जस्तै गणतन्त्र, संघीयता र समावेशितामा आघात पुग्ने जोखिमप्रति चेतावनी दिँदै सबै पक्षलाई संविधान र लोकतन्त्रको रक्षा गर्न आह्वान गरेको छ।

प्रकाशित मिति : २०८२ भाद्र २८ गते शनिवार
प्रतिक्रिया