
काठमाडौं, २८ भदौ। जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले भ्रष्टाचार विरुद्धको आफ्नो आवाज जेन–जी आन्दोलनको सफलतासँग ऐतिहासिक रुपमा जोडिएको बताएका छन्।
बस्नेतले नव नियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिँदै भ्रष्टाचारी विरुद्ध कारबाहीको लागि सरकारलाई आवश्यक कदम चाल्न आग्रह गरेका छन्। उनले भने, “सरकारको नेतृत्व नै भ्रष्टहरूले पालैपालो गर्दा भ्रष्टचारीहरू पुरस्कृत भइरहन्थे। हामीले उठाएको भ्रष्टाचार विरोधी आवाज जेन–जीले विद्रोहमा बदलिदियो। यो ऐतिहासिक सफलता हो।” उनले भ्रष्टाचारको छानबिन र कारबाहीमा सरकारले कुनै सम्झौता नगर्नुपर्ने र देशमा सुशासन चाहने सबै नेपालीले साथ दिनुपर्नेमा जोड दिएका छन्। बस्नेतले नेताहरू र सरकारी पदाधिकारीले भ्रष्टाचारबाट आर्जेको सम्पत्ति राष्ट्रियकरण गरी मुलुकको विकासमा लगाउनुपर्ने माग गरेका छन्।
साथै उनले राजनीतिक दलहरूले आफूलाई सुधार नगरे आफैं सक्किने चेतावनी समेत दिएका छन्। पूर्ण बस्नेत भ्रष्टाचार विरोधी अभियन्ताको छवि निर्माणमा सक्रिय रहेको बताइएको छ।