२०८३ भाद्र २३ गते मङ्गलवार

शङ्कर पोखरेललाई टरिगाउँ एयरपोर्टमा किन बजेट हाल्नुभएन ? भनेर सोधे, जवाफ नआउँदै ब्यूँझिए !

तुलसीपुर, २८ जेठ ।  ‘शङ्कर पोखरेललाई भेट्ने वित्तिकै “टरिगाउँ विमानस्थलका लागि बजेट किन हाल्नुभएन हँ ?” भनेर सोधे जवाफ नआउँदै ब्यूँझिए । “त्यो त सपना पो रहेछ, ।” तुलसीपुर उपमहागनरपालिका उपमेयर स्यानी चौधरीलाई विपनामा मात्रै होइन सपनामा पनि टरिगाउँ एयरपोर्टले झस्काउने गर्छ ।   हातमा विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) बोकेर, मनमा दृढ सङ्कल्प लिएर र ब्यूरोक्रेसीका अनगिन्ती अवरोधहरूको सामना गर्दै, साहस र आशाका साथ एयरपोर्टको स्तरवृद्धिका लागि निरन्तर खटिरहनु भएको छ । उहाँलाई टरिगाउँ विमानस्थल विस्तार समितिका संयोजकको समेत जिम्मेवारी दिइएको छ ।

३ वर्षदेखि वर्षौंदेखि उहाँले यो विमानस्थलको स्तरोन्नतिका लागि अथक प्रयास गरिरहनु भएको छ । किनकि उहाँलाई विश्वास छ—राम्रो हवाई सम्पर्कले दाङको व्यावसायिक केन्द्र तुलसीपुरको भाग्य बदल्न सक्छ । टरिगाउँ विमानस्थलको डिपीआर १०० पृष्ठको छ । जसमा १९ सय मिटर लम्बाइ र १५० मिटर चौडाइको धावनमार्ग बनाउने योजना छ । यो परियोजनाको लागत ५ अर्ब रुपैयाँ अनुमान गरिएको छ, यद्यपि चौधरीका अनुसार ३ अर्बमै काम सम्पन्न हुन सक्छ । “इन्जिनियरहरूले भिआइपी कक्ष बनाउने भन्दै लागत बढाए,” उहाँ भन्नु हुन्छ ।

“धावनमार्ग त ५० करोडमै बन्छ होला ।” डिपीआरमा जग्गा अधिग्रहण, टर्मिनल भवन, शौचालयलगायत संरचनाहरू छन् । हाल ७५० मिटरको सानो धावनमार्गले १९ सिटे जहाज मात्र सञ्चालन गर्न सकिन्छ, जुन यो क्षेत्रको आवश्यकताका लागि अपर्याप्त छ । चौधरीले यो डिपीआर दाङका सबै सांसद, मन्त्री देखि अर्थमन्त्री विष्णु पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, शङ्कर पोखरेल, विभिन्न दलका नेताहरुर्ला बुझाउनुभएको छ ।

“पर्यटनमन्त्री फेरिरहन्छन्, हरेकलाई छुट्टाछुट्टै बुझाउँछु,” उहाँ भन्नुहुन्छ । एउटा डिपीआर छाप्न ७०० रुपैयाँ लाग्छ, र उहाँले हालसम्म ३७ प्रति आफ्नै खर्चमा बुझाइसक्नु भएको छ । “अर्थमन्त्रीसँग त झगडा नै भयो,” उहाँ सम्झिनुहुन्छ । ओलीलाई डिपीआर बुझाउँदा उहाँले भन्नुभयो, “बजेट परेन भने म रुन्छु ।” ओलीले जवाफ दिए, “थारुकी छोरीलाई म रुन दिँदिन ।” तर बजेट अझै जुटेको छैन ।

नेपालको विमानस्थल नीतिप्रति चौधरीको आलोचना तीखो छ । पोखराको १७ अर्बको अन्तर्राष्ट्रिय विमानस्थल देखेर उहाँ निराश हुनुहुन्छ । “त्यहाँ अन्तर्राष्ट्रिय उडान हुँदैन, बुद्ध एयरको ७२ सिटे जहाज उड्छ। कर्मचारी कामविहीन छन्, ठूला भवन प्रयोगविहीन छन्,” चौधरीको भनाइ। “त्यो रकमले नेपालका सबै डोमेस्टिक विमानस्थल सुधार गर्न सकिन्थ्यो ।” गरिबी र स्रोत अभावले ग्रस्त देशमा अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता उहाँलाई “थोरै मासुमा धेरै मसला” जस्तो लाग्छ ।

टरिगाउँको विस्तार दाङका जनताको जीवनरेखा हो । एसी गाडी चढ्ने नेताहरूलाई जनताको दुख थाहा छैन । “शंकर पोखरेल, दीपक गिरी, डिल्ली चौधरीहरूलाई त एसी गाडी चढाएर स्वागत गरिन्छ । तर एयरपोर्ट नहुँदा जनतालाई के असर पर्छ भन्ने नै थाहा छैन ।”

संघिय सरकारको  बजेट भाषणको दिन  एअरपोर्टमा बजेट नपर्दा रातभरी रोएकी छु ।

“मेरो बच्चाले सोध्छन –कहिले बन्छ  एअरपोर्ट ? स्यानी चौधरीसँग बस्ने ३० जना अनाथ बालबालिका छन् । “उनीहरू मलाई ‘आमा’ भन्छन् । प्रायः सोध्छन् — एअरपोर्ट कहिले बन्छ ?” उपमेयर चौधरीले भन्नुभयो, “उनीहरूको त्यो प्रश्नले मेरो आँसु रोक्दैन ।”  त्यही पीडाले उनलाई बारम्बार मन्त्रालय धाउनु परेको छ । “म सयौं पटक मन्त्रालय धाएँ, तर अझै सुनुवाइ भएन ।”

आश म मारेकी छैन सबै कठिनाइ र निराशाबीच पनि स्यानी चौधरीको मुटुमा आशाको उज्यालो अझै बलिरहेको छ । “प्रधानमन्त्रीको ‘एक ढिक्का बजेट’ बाट पर्ला कि भन्ने आश छ । आश म मारेकी छैन — ‘हुन्छ कि’ भनेकी छु ।”

२०११ सालमा स्थापना भएको टरिगाउँ एयरपोर्टमा अहिले पनि हवाइ उडान अनिश्चित छ । यात्रुको चाप छ, तर नेपाल वायुसेवा निगमले मनपरी गर्दा हवाइ सेवा नियमित हुन सकिरहेको छैन् । कहिले ३ दिन, कहिले ५ दिन हवाइ उडान भर्ने भनिए पनि कर्मचारीको लापरवाहीका कारण उडान तालिका भए पनि अन्तिमा आएर क्यान्सील गर्ने गरिएको यात्रुले गुनासो गर्दै आएका छन् ।

प्रकाशित मिति : २०८२ जेष्ठ २९ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।