तुलसीपुर,१३ साउन । नेपाल –भारत विकास सहयोग अन्तर्गत भारत सरकारको आर्थिक अनुदानमा निर्मित राप्ती आँखा अस्पतालको शल्यक्रिया भवन एक कार्यक्रमका बीच उदघाटन गरिएको छ । भवनको उदघाटन भारतीय राजदूतावास, काठमाडौंका काउन्सिलर, गीतांजली ब्रैंडन र तुलसीपुर उपमहानगरपालिका नगरप्रमुख, टिकाराम खड्काले संयूक्त रुपमा गर्नु भएको हो । भारतीय राजदूतावासको आर्थिक सहयोगमा तुलसीपुर उपमहानगरपालिका र राप्ती आँखा अस्पतालको लागत साझेदारीमा चार करोड २४ लाखमा ३८ हजार रुपैया ठेक्का सम्झौता संगै अस्पताल थप आन्तरिक १ करोड रकम शल्यक्रिया भवन निर्माणमा लागेको छ ।
तुलसीपुर उपमहानगरपालिकामार्फत् भारतीय राजदूतावासको आर्थिक सहयोगमा सिएनएस, आरएस, भक्टोरिया जेभी बुद्धनगर काठमाडौंले २०८३ वैशाखमा भवन निर्माण सम्पन्न गर्ने गरी निर्माणको जिम्मा पाएको थियो । दुई तलाको भवनमा २० वटा कोठाहरु रहेका छन् । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र लामिछाने, लुम्विनी प्रदेश सभाका पूर्व सदस्य शंकर गिरी, नेपाल नेत्रज्योति संघका केन्द्रिय महासचिव भरतबहादुर चन्द, नेपाल पत्रकार महासंघ दाङकी महिला उपाध्यक्ष नारायणी रजौरे लगायतले बोल्नु भएको थियो ।
सो अवसरमा नेपाल नेत्रजयोति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख डाक्टर सम्शेर थापाले भवन निर्माण संगै आँखा स्वास्थ्यको विकास विस्तार र हाल सम्म दिएको सेवाको विषयमा जानकारी गराउनुभएको थियो । भवन निर्माण संगै अव आधुनिक शल्यक्रिया भवनबाट शल्यक्रिया सेवा प्रवाह हुने छ । भवन निर्माण उपसमिति र सहयोग गर्ने प्राविधिकलाई सम्मान गरिएको थियो । नेत्रज्योति संघ दाङका उपसभापति रेशमबहादुर खडकाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन अस्पतालका सूचना अधिकारी बालाराम खडकाले गर्नुभएको थियो ।





