२०८३ कार्तिक ११ गते मङ्गलवार

सरकारले तोकेका हरेक कामका लागि अब राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाण्डौँ, ७ माघ । सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्रविरुद्ध परेको रिट निवेदन खारेज गर्दै निर्देशनात्मक आदेश जारी गरेको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू अब्दुल अजीज मुसलमान र नृपध्वज निरौलाको पूर्ण इजलासले राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट आइतबार खारेज गरिदिएको हो ।

सर्वोच्चको रिट खारेजी निर्णयपछि सरकारले तोकेका हरेक कामका लागि अब राष्ट्रिय परिचयपत्र अनिवार्य भएको छ । वरिष्ठ अधिवक्ता धुव्रलाल श्रेष्ठ, अधिवक्ताहरू रामबहादुर राउत र विमल पोखरेलले छुट्टाछुट्टै रिट निवेदन दर्ता गराएका थिए । रिट निवेदकहरूले नागरिकता हुँदाहुँदै राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दा आम नागरिकलाई झन्झट हुने भन्दै अनिवार्य नगर्न माग गरेका थिए । निर्देशनात्मक आदेशको लिखत भने तयार भइनसकेको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले बताउनुभयो ।

रिट निवेदन खारेजीसँगै यसअघि सर्वोच्चले दिएको अन्तरिम आदेश पनि खारेज भएको छ । गृह मन्त्रालयले सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश खारेजीको माग गर्दै निवेदन दर्ता गराएको थियो । यसअघि सर्वोच्चले सरकारबाट प्रवाह गरिने सार्वजनिक सेवासुविधा उपलब्ध गराउने प्रयोजनका लागि राष्ट्रिय परिचयपत्रलाई अनिवार्य नगर्नू, नगराउनू भनी अन्तरिम आदेश जारी गरेको थियो ।।

प्रकाशित मिति : २०८१ माघ ७ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।