२०८३ मङ्सिर १० गते बिहिवार

किन अन्यौलमा छ तुलसीपुर उपमहानगरपालिका ?

अख्तियारी नपाउँदा आर्थिक काराेबारदेखि विकासे काम ठप्प

तुलसीपुर, २४ भदौ । महिनौँ हुँदा समेत नगर कार्यपालिकाको बैठक बसाउन नसकेर चर्चामा आएको तुलसीपुर उपमहानगरपालिका झनपछि झन समस्याको जालोमा फस्दै जान थालेको छ । चालु आर्थिक वर्षको करिब २ महिना पुग्नै लाग्दा समेत आर्थिक वर्ष २०८१/२०८२ को वार्षिक योजनाको रातो किताब नआउनु र प्रमुख प्रशासकीय अधिकृतले आर्थिक अख्तियारी नपाउनुले यसलाई पुष्टि गरेको छ ।

स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ७३ को उपदफा १ मा नगरसभाले बजेट स्वीकृत गरेको एक हप्ताभित्र प्रमुख प्रशासकीय अधिकृतलाई बजेट खर्च गर्ने अख्तियारी दिनुपर्ने कानुनी व्यवस्था छ । त्यसैगरी दफा २ को उपदफा १ बमोजिमा अख्तियारी प्राप्त गरेको १५ दिनभित्र प्रमुख प्रशासकीय अधिकृतले महाशाखा वा शाखा प्रमुख र वडा सचिवलााई कार्यक्रम र बजेट सहित प्रचलित कानुन बमोजिम खर्च गर्ने अख्तियारी दिने कानुनी व्यवस्था छ ।

तर बजेट स्वीकृत भएको २ महीना पुगिसक्दा समेत प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र डाँगीले आर्थिक अख्तियारी लिनुभएको छैन । २०८१ असार १२ गते बसेको  १५ औं नगर सभाको दोस्रो बैठकले आर्थिक वर्ष २०८१/२०८२ को बजेट स्वीकृत गरेको थियो । समयमै अख्तियारी नलिँदा स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन‍  (लिजा) मा धक्का पुग्ने देखिन्छ भने दैनिक प्रशासनिक कामकाजमा समेत यसले ठूलो असर गरेको छ । लिजामा अर्थात सुशासनमा कम्जोर हुँदा यसले संघीय सरकारबाट आउने बजेटमा समेत ठूलो कटौती हुने सम्भावना देखिन्छ । त्यसैगरी रातो किताब ‍‌(वार्षिक बजेट तथा कार्यक्रम ) छपाइमा समेत ढिलो हुँदा विकास निर्माणको गतिमा समेत अवरोध पुग्ने देखिन्छ ।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृतले अख्तियारी नपाउँदा पालिकाको  सबै आर्थिक कारोबारहरू ठप्प छन् भने दैनिक कार्यालय संचालनमा समस्या पैदा भएको छ । त्यसैगरी मासिक रुपमा तलब बुझ्दै आएका ४६७ कर्मचारीले दुई महिना पुग्नै लाग्दा तलब पाउन सकेका छैनन् । यसमा विशेष गरेर महिला र थारू समुदायका कर्मचारी मर्कामा परे । महिलाहरूको महान चाड हरितालिका तीज थियो भने थारू समुदायको अट्वारी पर्व थियो । बङ्गलाचुली गाउँपालिका लगायतका आधिकांश पालिकाले अख्तियारी समेत लिएर आर्थिक कारोबार सुचारु गरेका बेला तुलसीपुर उपमहानगरपालिकाको ढिलासुस्तीलाई स्थानी विज्ञले नेतृत्व जनताप्रति उत्तरदायी नभएको टिप्पणी गरेका छन् । बङ्गलाचुली गाउँपालिकाले कर्मचारीलाई २ महिनाकाे तलब समेत दिइसकेकाे छ । 

 बेथिति सहेर बस्दैनाै  : अध्यक्ष शाह 


पछिल्लो समय तुलसीपुर उपमहानगरपालिकालाई केही सिमित व्यक्तिले आफुखुशी चलाउन थालेको भन्दै अब सहेर बस्ने अवस्था नभएको ५ नं. वडा अध्यक्ष वीरेन्द्र कुमार शाहले बताउनुभयो । ‘मेयरले महिनौँ हुँदा समेत  कार्यपालिकाको बैठक नबसाउने, हाकिम अफिसीयल नम्बर (९८५७८२९१११ र ९८५७८७९१११) नम्बरका मोइबाल कार्यालयमा छोडेर सम्पर्क बिहीन हुने । यस्तो मनपर्दी गर्न पाइन्छ ? चाडपर्वमा दिदी बहिनीले तलब पाएनन् । रातो किताब समयमा नआउँदा विकास निर्माणको काम ठप्प भयो । यसको जवाफ कसले दिने ?’ अध्यक्ष शाहले भन्नुभयो । आधिकांश वडा अध्यक्षहरुको सामुहिक छलफल भइरहेकाले आफुहरु अब मेयर र हाकीमले गरेको बेथिति सहेर नबस्ने  चेतावनी दिनुभयो ।

के भन्छन मेयर खडका ?


तुलसीपुर उपमहानगरपालिका मेयर टीकाराम खड्काले प्रमुख प्रशासकीय अधिकृत डाँगी विदामा बसेका कारण आर्थिक अख्तियारीमा ढिलाई भएको बताउनुभयो । अधिकृत डाँगी भदौ ९ गतेबाट विदामा बसेको भन्दै शुक्रबार आएपछि बाँकी कामकाजलाई अघि बढाउने मेयर खडकाले बताउनुभयो ।

प्रकाशित मिति : २०८१ भाद्र २४ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।