तुलसीपुर, १५ भदौ । तुलसीपुरको कृष्णमन्दिरमा निःशुल्क स्वास्थ्य शिविरमा आएका आधिकांश ज्येष्ठ नागरिकमा स्वास्थ्य समस्या देखिएको छ । तुलसीपुर उपमहानगरपालिका –८ नम्बर वडाले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा आएका ज्येष्ठ नागरिक मध्य ५० प्रतिशतमा स्वास्थ्य समस्या देखिएको हो । उनीहरूको भिडियो एक्सरे गर्दा मुटु, फोक्सोमा पानी जमेको, पित्तथैली, मृगौलामा पत्थरी परेको, कलेजोमा बोसो जमेको र महिलाको हकमा पाठेघरको समस्या देखिएको रेडियोलोजिस्ट डा. पुष्प रिजालले बताउनुभयो ।

भिडियाे एक्सरे गर्दै रेडियोलोजिस्ट डा. पुष्प रिजाल
शरीरभित्र बढ्दै गएको रोग थाहा नपाउनु र लामो समयसम्म स्वास्थ्य चेकजाँच नगराउँदा जेष्ठ नागरिकमा जटिल प्रकृतिका समस्याहरू देखिएको डा. रिजालले बताउनुभयो । समस्या देखिएकाहरूलाई समयमै नजिकको सरकारी अस्पतालमा गएर उपचार सेवा लिन सुझाव दिएको छ । त्यसैगरी कतिपयको कान कम सुन्ने समस्या देखिएको नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. शिशिर पोख्रेलले बताउनुभयो । स्वास्थ्य शिविरमा राष्ट्रिय चिकित्सक सङ्घ दाङले प्राविधिक सहयोग गरेको थियो । १२ बजेदेखि सुरु भएको शिविरमा एक सय ५ जनाले चेकजाँच गराएका थिए ।
त्यसैगरी वडाले ज्येष्ठ नागरिकको मनोरञ्जनका लागि सत्संग कार्यक्रम समेत आयोजना गरेको थियो । कार्यक्रम सुरु हुनु अघि आयोजना गरिएको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष धर्मराज वलीले जनताको हरेक दुःखसुखमा वडा सँगै रहने बताउनुभयो । ‘हामी जनताका जनप्रतिनिधि हौं । हामी जनताकै माझमा रहन्छौ ।
किनकी उहाँहरूले हामीलाई ५ वर्षलाई काम गर्न पठाउनु भएको छ । जनताका समस्या समाधानका लागि हामी हरबखत प्रयास गछौँ र अभिभावकीय जिम्मेवारीबाट पछि हट्दैनौ । उचित कामका लागि जनताको पनि साथ सहयोग हामीलाई चाहिन्छ ।’ अध्यक्ष वलीले भन्नुभयो । सो अवसरमा तुलसीपुर उपमहानगरपालिका –२ का वडा अध्यक्ष भीम योगी, ज्येष्ठ नागरिक ललित वली, कृष्ण बहादुर केसी लगायतले आआफ्ना भनाई राख्नु भएको थियो । कार्यक्रमको सहजीकरण वडा सदस्य तुलप्रसाद खरालले गर्नुभएको थियो ।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।