तुलसीपुर, १ भदौ । दाङको दंगीशरणमा भएको सवारी दुर्घटना रहस्यमय बन्दै गएको छ । यसअघि रोकिराखेको ट्याक्टरमा पछाडीबाट मोटरसाइकल ठोक्किदा दुर्घटना भएको भनिएपनि अहिले दुर्घटनाले फरक मोड लिदै गएको छ । प्रहरी चौकी बागरका अनुसार दुर्घटना भएको स्थानदेखी मोटरसाइकल झण्डै ८ सय मिटर टाढाँ पश्चिमतर्फ भेटिएको थियो । दुर्घटना पश्चात ट्याक्टरसहित फरार भएका चालक बबई गाउँपालिका–७ का २९ वर्षीय इन्द्र बहादुर डाँगीलाई प्रहरीले चखौरा चोकबाट नियन्त्रणमा लिएको हो । प्रहरी चौकी बागरका इन्चार्ज (प्रहरी सहायक निरीक्षक) कोमलराज बोहराले दुर्घटना पछी भित्री सडकबाट भाग्न खोजेको ट्याक्टर बाटो पहिल्याउन नसकेर अल्मलिएको अवस्थामा फेला परेपछी सोधपुछ गर्दा मोटरसाइकललाई ठक्कर दिएर भाग्न लागेको खुलेपछी पक्राउ गरिएको बताउनुभयो । रातको समयमा ट्याक्टर धोएर सफा गरेको अवस्था थियो । ’उहाँले भन्नुभयो ।–त्यसपछी हामीलाई संका लागेर केयरकार गर्यौ । पहिले त म होइन भने तर, हामीले मोटरसाइकल चालकको मृत्यु भएको छैन घाइते अवस्थामा छन् भनेपछी उनले घटना स्विकार गरे । त्यसपछी हामीले नियन्त्रणमा लिएर इप्रका तुलसीपुर पठाएका हौं, । रातको समयमा बाटो पत्ता लगाउन नसकेर ट्याक्टर हेकुली हुदै रावतगाउँबाट चखौरा आएको उहाँले बताउनुभयो ।
यसैगरी प्रहरी चौकी बालापुरका इन्चार्ज (प्रहरी सहायक निरीक्षक) गिर बहादुर थापाले भने दुर्घटना भएको कसैले नदेखेकाले ठ्याक्कै भन्न सक्ने अवस्था नरहेको बताउनुभएको छ । दुर्घटना स्थलबाट मोटरसाइकललाई ट्याक्टरले घिसारेर धेरै टाँढा लिएको देखिएकाले पनि संका गर्ने ठाउँ भने रहेको उहाँले बताउनुभयो । यता इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक (इन्स्पेक्टर) दाम प्रसाद श्रेष्ठले भने विग्रेर रोकीराखेको ट्याक्टरलाई मोटरसाइकलले ठक्कर दिदा दुर्घटना भएको बताउनुभएको छ । विग्रेको ट्याक्टर दुर्घटना लगत्तै कसरी भाग्न सफल भयो ? भन्ने प्रश्नमा उहाँले ट्याक्टर धेरै टाढा नगएको बरु मोटरसाइकलले ठक्कर दिदा थोरै अगाडी सरेको हुनसक्ने बताउनुभयो । चालक नभएको अवस्थामा ट्याक्टरको पछाडीबाट मोटरसाइकल ठोक्किएको उहाँको भनाई छ । चालक नभएको ट्याक्टरले मोटरसाइकललाई घिसारेर कसरी ८ सय मिटर पर पुर्यायो ? भन्ने प्रश्नमा उहाँले त्यो सब गलत भएको बताउनुभयो ।
यसरी प्रहरीकै तिनथरी कुराले गर्दा दुर्घटनाको बारेमा सत्यतथ्य बाहिर आउन सकेको छैन । मृतकका आफन्तीले भने ट्याक्टरले नै मोटरसाइकललाई ठक्कर दिएको दाबी गरेका छन् । घटना कसरी भयो भन्ने बारे प्रहरीले गहिरो गरी अनुसन्धान गर्न सकेको छैन । दुर्घटनाको बारेमा प्रहरी प्रशासनले गहिरो अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउनुपर्ने पिडित पक्षको माग छ । तुलसीपुरदेखी पश्चिमतर्फ जादै गरेको लु.प्र. ०२–००१ प ०९४६ नम्बरको मोटरसाइकल र रा १ त १४२२ नम्बरको ट्याक्टर गएराती १० बजेको समयमा दंगीशरण–५ डाँडाचिस नजिकै ठोक्किदा दंगीशरण–५ का २५ वर्षीय सम्राट गिरीको मृत्यु भएको थियो । ट्याक्टरसहित चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।