तुलसीपुर, ३१ श्रावन । दाङको तुलसीपुर बसपार्कमा निर्माण गरिएका टहराको भाडा महंगो भएको व्यवसायीहरुले गुनासो गरेका छन् । विशेषगरी फलफुल व्यवसायीलाई व्यवस्थित गर्नका लागी बनाइएका टहराबाट ठेकेदारले चर्काे भाडा असुल्ने गरेको भन्दै व्यवसायीहरुले गुनासो गरेका हुन् । तुलसीपुरको बसपार्कदेखी पश्चिमतर्फ सुर्खेत रोडमा माथिल्लो साइडमा ३५ वटा र तल्लो साइडमा ३५ वटा गरी जम्मा ७० वटा टहरा निर्माण गरिएको छ । सडकको छेउका टहराबाट मासिक १५ हजार भन्दा धेरै भाडा लिने गरिएको छ भने तल्लो साइडका सटरबाट १२ हजार देखी १४ हजार रुपैयाँसम्म भाडा लिने गरेको बुढाथोकी सप्लार्यका सञ्चालक निम बहादुर बुढाथोकीले बताउनुभयो । उहाँका अनुसार अहिले भाडा महंगो हुदा तिर्न नसकेर कतिपय व्यवसायीहरु पसल छोडेर गइसकेका छन् भने कतिपय अझै अन्योल (दोधार) को अवस्थामा रहेका छन् । सार्वजनिक जग्गामा बनेका टहरामा व्यवसायीलाई माथी उठ्नै नदिने गरी लिइएको चर्को भाडाले व्यवसायी पलायन हुने अवस्था बढेको छ । राज्यले बनाएका सार्वजनिक टहरामा अस्वभाविक भाडा दरका कारण व्यवसायी पलायन हुने क्रम बढेको उहाँले बताउनुभयो । स्थानिय सरकारले व्यवसायीलाई प्रोत्शाहन गर्ने ठाउमा ठेकेदारसँग मिलेर उल्टै दुख दिने गरेको व्यवसायीहरु बताउछन् । भाडा दिन केहीदिन ढिला भएको अवस्थामा ठेकेदार आएर पसल बन्द गरिदिन्छु भन्दै धम्कि दिने गरेको बसपार्ककै टहरामा पसल सञ्चालन गर्दै आउनुभएकी जानकी वलीले गुनासो गर्नुभयो ।
पसलमा ग्राहक आएको अवस्थामा ठेकेदार आएर पसलमा ताल लगाइदिने भन्दै धम्काउने गरेकाले धेरै समस्या हुने गरेको उहाँको भनाई छ । त्यसैले गर्दा पनि एकै पटक १५ हजार जुटाउन नसकिने भएकाले दैनिक ५ सय रुपैयाँका दरले भाडा दिने गरेको उहाँले बताउनुभयो । यस्तै मासिक १५ हजार भाडा तिरेर पसल चलाउन सक्ने अवस्था नरहेको व्यवसायी रामकुमारी बिकले बताउनुभयो । पसल दर्ता गर्दा सटर भाडा ५ हजार भनेर ठेकेदारले सिफारिस दिएको तर, अहिले १५ हजार रुपैयाँ भन्दा धेरै भाडा असुली रहेको उहाँले बताउनुभयो । यो व्यवसायको आम्दानीले सामान खरिद गरेको मुल्य नै तिर्न सक्ने अवस्था नरहेको उहाँको भनाई छ । ठेकेदारले एउटा सटरबाट २ लाख रुपैयाँ फिर्ता नगर्ने गरी पहिले नै लगिसकेका छन् । बसपार्कको जिम्मा लिएका ठेकेदार रामु बुढाथोकीले भने यो विषयमा कुनै प्रतिकृया दिन मान्नुभएन । उहाँ सम्पर्कमै आउन चाहनु भएन । यता तुलसीपुर उपमहानगरपालिकाले भने व्यवसायीले लिखित रुपमा भाडा समायोजनको माग गर्न आएमा सहजीकरण गर्ने बताएको छ । नगरपालिकाका राजस्व शाखाका केशव डाँगीले अहिलेसम्म भाडा महंगो भएको विषयमा आफुहरुलाई जानकारी नभएको भन्दै भाडामा चित्त नबुझेको भए लिखित रुपमा नगरपालिकामा आउन सबै व्यवसायीलाई आग्रह गर्नुभएको छ ।।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।