जुम्ला, १६ श्रावन । जुम्लाको तिला गाउँपालिकाको देउली पाटनमा चट्याङ पर्दा करिब एक सय भेडा मरेका छन् । पालिकाको वडा नम्बर ६ र ९ मा पर्ने देउली पाटनमा चट्याङ लागेर मङ्गलबार तिला–७ का पोख्रीका नौ जना किसानका एक सय भेडा मरेको तिला गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकायाले जानकारी दिनुभयो । चट्याङबाट भेडापालक किसान भीमबहादुर रोकाया, लालसिंह रोकाया, कालीबहादुर रोकाया, वीरबहादुर रोकाया, बलबहादुर रोकाया, कालीबहादुर बोहोरा, नैने बुढा र रामबहादुर रोकायाका भेडा मरेको उहाँले बताउनुभयो ।
कसका कति भेडा मरेका हुन् भन्ने एकिन विवरण आउन बाँकी रहेको भन्दै चट्याङमा परी तिला–७ का अन्दाजी ५५ वर्षीय लालसिंह रोकाया सामान्य घाइते भएको उहाँले बताउनुभयो । यसरी मरेका भेडाको बीमासमेत नगरिएकाले किसानलाई निकै ठूलो आर्थिक क्षति भएको र अब पालिकाको विपद् व्यवस्थापन समितिको बैठकबाट राहतका लागि आवश्यक निर्णय गर्ने उहाँको भनाई छ ।।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।