रुकुम पश्चिम, १० श्रावन । भूकम्पले क्षति पुर्याएको रुकुम पश्चिमका दुई हजारभन्दा धेरै लाभग्राहीले अझै पहिलो किस्ताको रकम पाउन सकेका छैनन् । गएको कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो । तर भूकम्प गएको १० महिना हुन लाग्दा पनि पीडित पहिलो किस्ताकै पर्खाइमा छन् । पहिलो किस्ता पाएका सबै लाभग्राहीले पनि दोस्रो किस्ता पाउन सकेका छैनन् । रुकुम पश्चिमका ३२ हजार नौ सय ९६ लाभग्राहीले पहिलो किस्ताबापत २५ हजार रुपैयाँका दरले रकम पाएका छन् । बाँकी दुई हजार दुई लाभग्राहीका लागि पहिलो किस्ताको रकम उपलब्ध नभएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिनुभयो ।
रकम प्राधिकरणबाट उपलब्ध हुनुपर्नेमा भएको छैन । प्रमुख जिल्ला अधिकारी पन्तकाअनुसार पहिलो किस्ताबापत २५ हजारका दरले ३२ हजार नौ सय ९६ लाभग्राहीले ८२ करोड ४९ लाख रुपैयाँ प्राप्त गरेका छन् । जिल्ला विपद् व्यवस्थापनबाट अहिलेसम्म १६ हजार लाभग्राहीका लागि दोस्रो किस्ता स्थानीय विपद् न्यूनीकरण कोषमा पठाए पनि ती सबै लाभग्राहीले दोस्रो किस्ता पाउन सकेका छैनन् । दोस्रो किस्ताबापतको प्रतिपरिवार २५ हजार रुपैयाँका दरले स्थानीय विपद् न्यूनीकरण कोषमा ४० करोड रुपैयाँ जम्मा भएको प्रमुख जिल्ला अधिकारी पन्तले बताउनुभयो ।।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।