तुलसीपुर, ४ असार । दाङमा लामो समयसम्म खडेरी भएपछि पानी पार्न भन्दै तुलसीपुर–८ अश्वाराका स्थानीबासीहरु थर्कोटको लेकमा पुजा गर्न गएका छन् । थर्कोटको लेक तुलसीपुर उपमहानगरपालिका–३ मा पर्दछ । स्थानीहरुले बोका, राँगो, साँडो, भाले, हाँस, सुंगुर र परेवा लिएर भगवान इन्द्रको पुजा गर्न थर्कोट पुगेका हुन् । थर्कोटको लेकमा पुगेर भगवान इन्द्रको पुजा गरेपछि पानी पर्छ भन्ने जनविश्वास रहीआएको पुजामा सहभागी महेन्द्र भण्डारीले जानकारी दिनुभयो ।
पुजा गर्नु पूर्व गाउँबाट मुख्य कर्ता बनेर गएका व्यक्तीको शरिर भरि स्थानीयले दही दल्ने चलन छ । शरिरमा दलेको दही पुजा गरिसकेपछि परेको पानीले पखाल्ने गरिन्छ । लामो समयसम्म आकाशबाट पानी नपरेपछि थर्कोटको लेकमा पुगेर पुजा गर्ने वषौंअघि देखिको परम्परा हो ।
वर्षा नहुँदा बारीमा लगाएको मकै बाली पनि सुकेको र धान खेतिका लागि पनि ब्याड राख्ने समय घर्किन लागेकाले किसानहरु पुजा गर्न गएको अश्वारा खानेपानीका अध्यक्ष शिवहरी भण्डारीले जानकारी दनिुभयो । लामो समय सम्म वर्षात नभएपछि दाङमा पानीको संकट बढ्दै गएको छ ।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।