२०८३ कार्तिक ११ गते बुधवार

लैंगिक रुपमा ज्यालामा कहिलेसम्म असमानता ?

तुलसीपुर, १९ वैशाख । दिउँसो करिब १ वजेको समय, वैशाख महिनाको टन्टलापुर चर्को गर्मी छ । हावा त्यत्तिकै चलिरहेको छ । हावासँगै धुलो पनि उडिरहेको छ । एक महिला हातमा बेल्चा लिएर बालुवा चालिरहनु भएको छ । धुलो र घामको सुरक्षाका लागि उहाँकोे मुख र टाउको सलले छोपीएको छ । झल्यास्स देखेपछि सधैँ देखिरहेको मान्छेले पनि उहाँलाई ठम्याउन सक्दैनकि भन्ने जस्तै भेषमा उहाँ हुनुहन्छ । तर एक दिन काम नगरे उहाँलाई छाक टार्न मुस्किल पर्छ । तुलसीपुर उपमहानगरपालिका ९ की कृष्णी विश्वकमार्, घर बनाउने ठाउँमा दैनिक ज्याला मजदुरी गर्न थालेको १ दशक बितिसक्यो । उहाँले इट्टा बोक्ने, बालुवा बोक्ने, चाल्ने लगायतका काम गर्नुहुन्छ । उहाँसँगै काम गर्ने केही पुरुषहरु पनि उहाँले गर्ने काम नै गर्नुहुन्छ तर ज्याला भने समान रुपमा कहिल्यै पाउन सक्नु भएको छैन । उहाँसँग काम गर्ने पुरुषले दैनिक ६ सय देखि ७ सय रुपैया पाउनुहुन्छ तर उहाँले दिनमा ५ सय रुपैयाँ मात्रै पाउनुहुन्छ । काम उही हो तर महिला र पुरुष विचमा भएको असमानताका कारण ज्यालामा विभेद भएको उहाँको धारणा छ । न त उहाँ उहाँलाई श्रमिक दिवसको बारेमा नै थाहा छ । कृष्णी मात्रै होइन कृष्णी जस्तै काम गर्ने धेरै महिलाहरुले पुरुष जस्तै दिनभरी श्रम गरेर पसिना बगाउनुहुन्छ । हाम्रो गाउँसमाजमा महिलालाई हेर्ने दृष्टिकोण अझै पनि फेरिन सकेको छैन । महिला र पुरुषले एउटै समयमा उही काम गरे पनि ज्यालामा अझै असमानता छ । महिलाहरुका लागि नियम कानुन त बने तर व्यावहारिक रुपमा कार्यान्वयनमा आउन सकेको छैन । कानुनमा महिला पुरुष बराबर भनेता पनि व्यवहारमा कार्यान्वयन हुन सकेको छैन । लिखित रुपमा महिलाका लागि कानुन जति नै बनेता पनि व्यावहारिक रुपमा कार्यान्वयनमा ल्याउन सके मात्र महिला र पुरुषविचमा समानता हुने महिला अधिकारकर्मी डाक्टर रेणु अधिकारीले बताउनु भयो ।

समाजमा परम्परा तथा पृतसत्तात्मक सोच ,अशिक्षा, जनचेतनाको कमी लगाएतका विविध कारणले महिला माथी विभिन्न खाले विभेद अझै पनि हुने गरेका छन् ।नेपालको संविधानको धारा ३ को मौलिक अन्तर्गत पर्ने समानताको हकमा भने समान कामका लागि लैंगिक आधारमा कुनै पनि भेदभाव गरिने छैन भनिएको छ तर यो भनाई संविधानमा मात्रै सीमित रहेको छ । त्यसकारण समाजमा महिला माथी हुने कुनै पनि विभेद अन्त्यका लागी राज्यले बनाएका कानुनलाई प्रभावकारी कार्यन्वयन गर्न जरुरी छ । यसैविच आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवम श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो । त्यसयता सन् १८९० देखि हरेक वर्ष मे १ तारिखमा श्रमिक दिवस मनाउन सुरु गरिएको हो । नेपालमा भने विराटनगरमा २००७ सालमा भएको मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो । यस वर्ष ‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराकासाथ एक सय ३५ औँ विश्व श्रमिक दिवस मनाइँदैछ ।

प्रकाशित मिति : २०८१ बैशाख १९ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।